‘मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ’ -प्रमुख आयुक्त थपलिया

‘मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ’ -प्रमुख आयुक्त थपलिया


प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । 

शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरु मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताएका हुन् ।

उनले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरुलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरुको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । 

उनले भने- ‘आयोगको प्रयत्न भनेको हामी १९ गते सम्ममा अहिले प्रारम्भ भइरहेका सबै मत गणना कार्यहरु सम्पन्न गर्नेगरी तयारी गरिराखेका छौँ । र त्यो विवरण प्राप्त भएको दुई दिन भित्र हामी सबै राजनीतिक दलहरुलाई तपाईहरुको हैसियत यस्तो रह्यो, प्रतिनिधि सभामा । प्रदेश सभामा एकदेखि सुदूरपश्चिम सम्ममा तपाईहरु यो–यो अवस्थामा रहनुभयो । तपाईहरुको यहाँ यहाँ थ्रेसहोल्ड कट्यो । यहाँ यहाँ कटेन यो अवस्था रह्यो । त्यसकारण तपाईहरुले आयोगमा बुझाएको बन्दसूचीको आधारमा कानूनले तोकेको क्लष्टर र तपाईले दिएको मर्यादाक्रम नमिचिनेगरी तुरुन्तै आफ्ना माननीय सदस्यहरु निर्वाचित गरेर पठाइदिनुस् भनेर चिठी लेख्छौँ । २२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौँ । सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले एकै चरणमा सबै ठाउँको निर्वाचन सम्पन्न गरेर आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए  । 

उनले भने– ‘एकै चरणमा यत्तिको शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होला र भनेर हामीलाई प्रश्ताव गर्दैगर्दा भनिएको विषय थियो । तर हाम्रोजस्तो मुलुकमा जहाँ सुरक्षाको प्रत्याभुति सधैँ चाहिन्छ । चुनावमा मात्रै सुरक्षा चाहिने त होइन, सधै जरुरी छ । निर्वाचनको बेलामा फरक किसिमको सुरक्षा अनुभुति हो । आयोगले व्यवस्थापन गर्ने कुरा सम्पूर्ण व्यवस्थापन गर्नसक्छौँ भनेपछि अरु कुनै तर्क गरेर यो निर्वाचनलाई दुई वा तिन चरणमा लगिरहनु पर्दैन भन्ने हाम्रो जोड थियो । यसले अब के कुरा स्थापित ग-यो भने आगामी दिनहरुमा पनि निर्वाचन त भइरहन्छन् । ति निर्वाचनहरुमा पनि यो कुराहरु प्रमाणित गर्नुपर्दछ । हुन्छ भन्ने एउटा मानक यसले स्थापित गरेको छ ।’
 
थपलियाले आफूहरु वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नभएको बताए । उनले आगामी संसदमा निर्वाचन सम्बन्धी नयाँ कानून लैजाने तयारी भइरहेको जानकारी दिए । आयोगले निर्वाचन समावेशी र  लैगिकमैत्री होस् भन्ने चाहना राखेको भएपनि त्यस्तो हुन नसकेको उनले उल्लेख गरे । 

Logo