नियात्रा : चिंगिज आइतमातभ

नेशनल म्यूजियमबाट फर्कदै गर्दा अगाडिको ठूलो पार्कमा एउटा विशाल पूर्ण कदको मूर्ति उभिएको थियो ।
‘यो कसको मूर्ति हो ?‘ सेप्टेम्बर २५ को अपरान्ह मलाई बिस्केक शहर घुमाउन हिँडेका जोयललाई सोधेँ ।
उनले भने, ‘चिंगिज आइतमातभ ।‘

‘चिंगिज आइतमातभ ?‘ मैले उल्टै प्रश्न गरेँ उनैलाई । आइतमातभको नाम उनले यसरी भन्लान् भन्ने कल्पनासम्म पनि गरेको थिइन ।

‘हो, आइतमाभत । उनी हाम्रा राष्ट्रिय नायक (नेशनल हिरो) हुन् ।‘ जोयलले फेरि भने ।

मेरो मन आनन्दले एकाएक फुर्फुर भयो । आदर र एउटा लोभले मैले एकछिन त्यो मूर्तिलाई नियालेर हेरेँ । मूर्तिको अनुहारलाई नियालेर हेरेँ । मेरो मनमा एकाएक बीसौँ वर्ष अगाडि पढेको किताबको एउटा दृश्य झल्झली भएर आयो । त्यो ताजा दृश्यले म मोहित भएँ एकछिन ।

एउटा बूढो किसान गुल्सारी नामको घोडा पालेर बसेको छ । त्यो घोडा उसको साथी पनि हो, वाहन पनि हो, कमाइ खाने भाँडो पनि हो । उनीहरू दुईको मित्रता अत्यन्त निकटको छ र एउटा बिना अर्को अपूरो हुने अवस्थामा दुवै छन् । यस्तोमा एक पटक घोडा दौड प्रतियोगिता हुन्छ । त्यो निकै प्रतिष्ठित प्रतियोगितामा गुल्सारी पनि दौडन्छ । बूढो किसानको सम्पूर्ण विश्वास र सपना गुल्सारीको गतिमा अडेको हुन्छ । अनेकौँ घोडाहरू धूलो उडाउँदै दौडदै गर्दा त्यही धूलोसँगै मानिसहरूको कोलाहल, सुसेली र थपडीको आवाज पनि गुञ्जन्छ । जसै गुल्सारी बिस्तारै अघि बढ्दै जान्छ एकपछि अर्को घोडालाई पछि पार्दै, सम्पूर्ण वातावरण गुञ्जायमान हुन्छ एउटै आवाजले — गुल्सारी, गुल्सारी । र, यसरी गुल्सारीले दौड जित्छ । यो दृश्य चिंगिज आइतमातभले लेखेको गुडबाई गुल्सारी भन्ने किताबको बूढो र घोडा शीर्षकमा गरिएको नेपाली अनुवादमा पढेको हुँ । उनको एउटै किताबको पढाइबाट नै म उनको लेखनको शक्तिले अति प्रभावित छु । चिंगिजको कलमको शक्तिले नै हो, यतिका वर्षपछि पनि म उक्त दृश्यलाई एकदम ताजा रूपमा स्मरण गरिरहेको छु ।

‘ चिंगिजको पूरै फोटो आउने गरी मेरो फोटो खिच ।‘ मैले जोयललाई उनले बुझ्ने गरी भनेँ ।

उनले दुई तीन किसिमले फोटो खिचे । म चिंगिजको मूर्तिको तल एकछिन त्यत्तिकै बसिरहेँ चूपचाप । यो अचानक एकजना प्रसिद्ध लेखकलाई भेट्दाको एउटा सुखद आश्चर्य थियो ।

मैले चिंगिजलाई आजसम्म रुसी लेखक भनेर चिनेको थिएँ । हुन पनि सोभियत संघको समयमा उनी रुसी भाषा हुँदै अन्य भाषाहरूमा गएका हुन् । संसारका १ सय ५० भाषाहरूमा अनुवाद हुँदा उनी सामान्यतः रुसी लेखककै रूपमा चिनिए । तर यहाँ आएपछि उनको नयाँ परिचय पाएँ । उनी किर्गिज हुन् र सबै किर्गिजका हृदयमा बसेका राष्ट्रिय नायक हुन् ।

किर्गिस्तानमा दुई जना व्यक्तित्वलाई राष्ट्रिय नायकको सम्मान प्राप्त भएको रहेछ । पहिलो मानस भए । दोस्रोचाहिँ प्रसिद्ध साहित्यकार चिंगिज आइतमातभ । मानस संसारको सबैभन्दा ठूलो महाकाव्यका नायक एउटा वीरता, धीरता र एकताका प्रतीक मिथक थिए भने चिंगिज आइतमातभ वास्तविक मान्छे थिए । नेशनल म्यूजियमको प्राङ्गणमा एउटा बलियो कालो घोडामा चढेको मानिसको विशाल मूतिको अगाडि ठूलो बाटो थियो र त्यसभन्दा पनि अगाडिको पार्कमा विशाल पूर्ण कदको मूर्ति खडा थियो । त्यो मूर्ति चिंगिज आइतमातभको रहेछ । यसरी दुई राष्ट्रिय नायकहरूलाई राजधानी शहरको मुटुमा रहेको विशाल पार्कको दुई छेउमा आमनेसामने पारेर राखिएको रहेछ । बाँकी दुईतिर अर्ध वृत्ताकार घरहरू थिए । खुला ठाउँतिर जता फर्के पनि राष्ट्रिय नायकलाई देखिने रहेछ ।

अर्को दिन हामी इन्टरनेशनल पेन ८० औँ कंग्रेसमा भाग लिन आएका साहित्यकारको सम्मानमा टर्किस मानस विश्वविद्यालय र इन्टरनेशनल अटार्टूक अलाटु विश्वविद्यालयमा दुइटा कार्यक्रम राखिएको थियो । ती दुवै कार्यक्रममा विश्वविद्यालयका उपकूलपति, भूतपूर्व राष्ट्रपति, सेन्ट्रल एशिया पेनकी अध्यक्षदेखि अन्य प्राज्ञिक वर्गले समेत चिंगिज आइतमातभको अति नै प्रशंसा गरे । किर्गिस्तान् १९९१ मा स्वतन्त्र देश भएपछि चिंगिज किर्गिस्तानको तर्पmबाट यूरोपियन यूनियन, यूनेस्को, बेल्जियम, लक्जम्बर्ग, नेदरल्याण्डजस्ता विभिन्न देश र निकायमा किर्गिस्तानको तर्पmबाट राजदूत समेत भएका रहेछन् । रुसी र किर्गिज दुवै भाषामा लेख्ने चिंगिज सोभियतकालमा लामो समय मस्कोमा बसेका रहेछन् । तर उनी जन्मेको किर्गिस्तानकै इस्सिककुल नजिकै रहेछ र स्वतन्त्रतापछि उनी बिस्केक शहरमै आएर बसेका रहेछन् ।

सेप्टेम्बर ३० मा आयोजित टर्किस मानस विश्वविद्यालयको प्रवचन तथा सांस्कृतिक कार्यक्रममा वक्ताका रूपमा उभिएका विश्वविद्यालयका डिनले आइतमातभको बारेमा भने – ‘आइतमातभले धेरै जटिल जीवन बिताए तर त्यसैबाट उनले देशको लागि केही ल्याए । म उनी सँगसँगै बसेको छु धेरै समय । आइतमातभले यस क्षेत्रको, यो माटोको यथार्थलाई वास्तवमा बुझेर लेखे । उनी किर्गिजमा लेख्थे र रूसीमा अनुवाद हुन्थ्यो । वास्तवमा उनको प्रतिभा जति हो संसारले उनलाई त्यति चिनेन ।’ साथै, किर्गिजहरू भने बीसौँ शताब्दी आइतमातभको समय हो समेत भन्दा रहेछन् र उनको निधन भएपछि त्यो ठाउँ अहिले खाली भएको मान्दा रहेछन् ।

अर्का वक्ताको रूपमा उभिएकी किर्गिस्तानकी भूतपूर्व राष्ट्रपति रोजा ओतुनबायेभाले भनिन् – “मैले विदेश मन्त्रालयमा काम गर्दा उनी विदेशमा राजदूत थिए । उनी सबैका प्रिय थिए र महान थिए । वास्तवमा आइतमातभ अझै हामीसँगै छन् । अंग्रेजहरूले शेक्सपियरलाई धन्यवाद दिएजस्तै हामी आइतमातभलाई धन्यवाद दिन्छौँ । आइतमातभका केही नाटकहरू अझै प्रदर्शन भएका छैनन् । उनका केही किताब अझै अनुवाद हुन सकेका छैनन् । साहित्यमा हामीले अझै धेरै काम गर्न बाँकी छ । अनुवादले हामीलाई एकअर्कालाई बुझ्न मद्दत गर्छ । हामी एकअर्कालाई भेटौँ । हामी एकअर्कासँग कुरा गरौँ । हामी एकअर्कासँग मिलेर काम गरौँ ।”

अर्का वक्ता जो आफू पनि पछिल्लो पिँढीका लेखक थिए (मैले उनको नाम बिसिएँ), भने, ‘जब मैले किताबहरू पढ्न थालेँ, आइतमातभ क्लासिक भइसकेका थिए । मैले पहिलोपल्ट उनको किताब जमिलाको अन्तरक्रिया कार्यक्रममा उनलाई नजिकैबाट हेरेको हुँ । म एकदम रोमाञ्चित भएको थिएँ । पछि मैले उनका सबै किताब पढेँ । उनको प्रत्येक किताब मेरो लागि महान र प्रेरणादायी थियो । पछि जब मैले समीक्षा लेख्न थालेँ, म सधैँ उनको नयाँ किताबको प्रतीक्षामा हुन्थेँ । मैले उनलाई भेटेको छु । उनी जुन काम गर्थे, पूरा उत्साह र समर्पणका साथ गर्थे । वास्तवमा उनलाई आलोचना गर्न कुनै पनि आलोचकलाई सजिलो थिएन ।‘

पेन इन्टरनेशनलको यस कंग्रेसकी मुख्य आयोजक सेन्ट्रल एशियन पेनकी अध्यक्ष डालमिरा तिलेप्बर्गेनले पनि चिंगिजको बारेमा प्रशंसाको निकै वाक्यहरू बोलिन् । उनले एक ठाउँ भनिन् – “आइतमातभले कहिल्यै आफूलाई ठूलो लेखक ठानेनन् । ठूलो मान्छेको विशेषता पनि यही नै हो ।” मैले उनको कुरालाई आँखा चिम्लेर स्वीकार गरेँ र फेरि उनलाई सुन्न थालेँ । ‘अर्को कुरा, आइतमातभ लेखनमा परिमार्जन पनि थुप्रै गर्थे ।’

वास्तवमा डालमिराले चिंगिजको प्रशंशा मात्र गरिनन्, चिंगिजलाई माध्यम बनाएर साहित्यमा परिमार्जनको महत्वको बारेमा पनि भनिन् । कुनै पनि रचना लेखिसक्ने बित्तिकै लेखकलाई एकदम राम्रो लाग्नु स्वाभाविक हो, तर केही समयको अन्तरालमा फेरि त्यही रचनालाई ध्यानपूर्वक पढ्ने हो भने त्यहाँ सुधार गर्नुपर्ने थुप्रै ठाउँहरू भेटिन्छन् । असल लेखकले प्रकाशनको लागि ज्यादै हतार पनि गर्नु हुँदैन ।

यसैगरी, इन्टरनेशनल अतातुर्क अलातु विश्वविद्यालयमा अक्टुबर १ को साँझ भएको सांस्कृतिक कार्यक्रममा किर्गिस्तानका एक जना नाटककार तथा निर्देशकले पनि आइतमातभको दिल खोलेर प्रशंसा गरे र आफूले उनीबाट धेरै सिक्न पाएको बताए ।

चिंगिज आइतमातभ लोकजीवन र लोककथाबाट विषयवस्तु टिपेर समकालीन सामाजिक जीवनसँग तादात्म्य कायम गरी पुनर्रचना गर्ने क्षमता भएका लेखक थिए । उनका रचनाहरूमा जनावरहरूसँगको अति निकट सम्बन्ध रहेको पाइन्छ । गुडबाई गुल्सारीमा घोडा एउटा शक्तिशाली चरित्र भएर आएको छ भने द डेज लास्ट मोर देन अ हन्डेड इयर्समा ऊँटलाई विषयवस्तु बनाएका छन् । किर्गिजहरूको जीवनको दैनिकीलाई छपक्कै बोकेर उपन्यासमा उतारेको जस्तो ज्यादै स्वाभाविक र वास्तविक लाग्छ उपन्यास । त्यसै भएर नै किर्गिजहरू उनीहरूको आँसु र हाँसोलाई, उनीहरूको मनको कुरालाई जीवन्त रूपले लेख्ने लेखक भनेर चिंगिजलाई हृदयहृदयमा बोकेर हिँड्दा रहेछन् । मलाई उनको प्रेम विषयमा लेखिएको जमिला उपन्यास पनि पढ्न मन लाग्यो । मैले यो कुरा मेरी साथी ऐसाल्किनलाई भनेँ । उनले म पुस्तक पसलमा गएर अंग्रेजीमा छापिएको जमिला किनेर ल्याउँछु तिम्रा लागि भनिन् ।

किर्गिस्तानमा टर्की भाषाको पनि निकै प्रभाव रहेछ । छिमेकी देश मात्र नभएर भाषामा पनि धेरै समानता रहेको र अन्य सामाजिक, आर्थिक सम्बन्ध पनि गाढा रहेको एउटा प्रमाण त यो विश्वविद्यालयको नाम नै टर्कीसँग जोडिएको, विश्वविद्यालयमा किर्गिस्तान र टर्की दुवै देशको झण्डा राखिएको र यस विश्वविद्यालयको सम्पूर्ण खर्च टर्कीले व्यहोर्ने गरेकोबाट पनि देखिने रहेछ । यति मात्र होइन, सन् २००८ मा टर्कीले साहित्यको नोबेल पुरस्कारका लागि चिंगिज आइतमातभलाई तुर्की भाषाको लेखकको रूपमा नोमिनेसन गरेर पठाएको समेत रहेछ । यसबाट चिंगिज तुर्की भाषामा पनि राम्रो दखल राख्थे भन्ने बुझियो ।

चिंगिज ७९ वर्षको उमेरमा मिर्गौलाले काम नगरेपछि जर्मनीमा औषधोपचार गर्न गएका थिए । त्यहीँ नै उनको जून १०, २००८ मा मृत्यु भयो । त्यसपछि शोक वक्तव्य प्रकाशित गर्दै प्रसिद्ध पत्रिका गार्जियनले १५ जुलाई २००८ को अंकमा चिंगिजलाई ‘इमान्दार हृदय र दार्शनिक मन भएको लेखक’ भनेको छ । किर्गिस्तानमा उनको सम्झनामा उनको नाममा एउटा संग्रहालय बनाइएको छ जहाँ उनका पुस्तकहरू, उनका पाण्डुलिपिहरू, कलम, कुर्सीटेबुल लगायत उनले दैनिक प्रयोगमा ल्याएका अनेकौँ सामग्री राखिएका छन् जसले चिंगिजको सम्झनालाई सदैव मनमा जगाइराख्छन् ।

चिंगिजको यति धेरै प्रशंसा सुनिरहँदा मनमा एउटा उत्सुकता पनि उठेकै हो । के किर्गिस्तानमा अर्को लेखक छैन जसलाई हामी त्यति नै उत्सुकतासाथ पढ्न सकौं ? वा चिंगिजको विशाल वृक्षको छायाले अन्य समकालीन वा पछिल्ला साहित्यकारहरूलाई धेरै सेप लागेको हो ?

मैले आइतमातभको प्रशंसा जति धेरै ठाउँमा जति धेरै किसिमले सुन्दै गएँ त्यति नै हाम्रा महाकवि देवकोटा याद आइरहे । के हामी कसैले देवकोटा वा अरू कुनै महान् नेपाली साहित्यकारलाई खुलेर यति धेरै प्रशंसा गर्छौं ? हामी हाम्रा कुनै साहित्यकारलाई यति धेरै सम्मान र आदर गर्छौं ? हामी आफ्नो अहंलाई आपूmबाट बाहिर राखेर अर्को लेखकको रचनालाई पढ्छौँ ? र, त्यहाँभित्र भेटिएका राम्रा र जीवनोपयोगी कुराहरूलाई आत्मसात् एवं प्रसारण गर्छौं ?

मभित्र प्रश्नहरू उठिरहे ।

नियात्रा : चिंगिज आइतमातभ