मृत्युको पनि आयु हुन्छ : डा. रवीन्द्र समीर

डा रवीन्द्र समीर चिकित्सा क्षेत्रमा समर्पित जनस्वास्थ्य विज्ञ हुन् तर उनको परिचय यतिमै सीमित छैन । नेपाली साहित्यिक क्षेत्रमा गतिलो योगदान दिएका डा. रवीन्द्र समीर ओजिलो लेखनका लागि चर्चित छन् । लघुकथा लेखनमा सिद्धहस्त उनका १२ वटा साहित्यिक कृति प्रकाशित छन् जसमध्ये ८ वटा त लघुकथा संग्रह छन् ।

कथा आफैंमा छोटो आख्यान हो भने लघुकथा त्यसको पनि लघुरूप । ‘घैंटामा समुद्र’ अटाउने क्षमता भएका साहित्यकार मात्रै गतिलो लघुकथाकार बन्न सक्छन् । किनभने लघुकथालाई अत्यन्तै छरितो खिरिलो र गठिलो विधा मानिन्छ जहाँ थोरै शब्दमा गूढ र गहन कुरा अटाउन सक्नुपर्छ । रहर त जसले पनि गर्नसक्छ तर पनि साहित्यको यो लघु विधामा खारिएर २४ क्यारेटको सुन बन्न सक्नेहरू भने यदाकदा मात्र विरलै पाइन्छन् । त्यस्तै विरलाकोटिका साहित्यिक व्यक्तित्व हुन् डा. रवीन्द्र ।

डा. रवीन्द्रले हालसालै मात्र लघुकथा लेखनमा नयाँ प्रयोग गरेका छन् । उनको उपन्यास ‘मृत्युको आयु’ खासमा लघुकथाहरूको माला हो जो एउटै धागोमा उनिएर अर्थपूर्ण बनेका छन् । उपन्यासभित्रका १ सय ६६ वटा बेग्लाबेग्लै लघुकथाले एउटा परदेशिएको ठिटोको असामयिक निधनलाई मिहिन ढंगले केलाएका छन् र मृत्युको आयुलाई फरक ढंगले अर्थ्याएर लेखकले नेपाली साहित्य क्षेत्रमा नयाँ क्षितिज उघारेका छन् ।

साहित्यसेवामा समर्पित भएर पद्मश्री साहित्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, नेपाल विद्या भूषण पदकजस्ता विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका लेखक हुन् डा. रवीन्द्र समीर । उनीसँग केन्द्रविन्दुका दीपक दर्शनले बखुण्डोलस्थित क्विन्स क्याफेमा भेट गरे । उनले ‘मृत्युको आयु’ कै सेरोफेरोमा केन्द्रित रही डा. रवीन्द्र समीरसँग गरिएको कुराकानी :

डा. साब, मृत्युको आयु हुन्छ ? कसरी निर्धारण गर्नुभयो यसको आयु ?

मृत्युको आयु हुन्छ, हुँदो रहेछ । मैले सनातन हिन्दू संस्कारको १३ दिने क्रियाकर्मलाई आधार बनाएर मृत्युको आयु निर्धारण गरेको हुँ । मानिसको मृत्युपछि १३ दिने संस्कार गरुन्जेल मृत्यु बाँकी रहन्छ भने त्यसपछि मृत्यु पनि सकिन्छ, मानिसको आत्मा पनि मर्छ ।

हिन्दू शास्त्रीय मान्यताले त आत्मा मर्छ भन्दैन, पुनर्जन्मलाई मान्छ नि त ?

खासमा शरीर मरेपछि आत्मा भन्ने चिज पनि मर्छ । आत्मा मर्दैन, शरीर मात्र मर्छ भन्नु एउटा आदिम सोच हो । सँगै बसेको, हाँसखेल गरेको, बोलेको मान्छेले चट्टै त्यसो गर्न छाडेपछि ओहो, अघि बोल्ने, हाँसखेल गर्ने चिज कहाँ गयो, शरीर त यहीँ छ भनेर मानिसले यसका पछाडि पक्कै पनि केही तत्व छ भनेर अनुमान गर्‍यो। अनि त्यही पक्कै केही छ को विस्तार हुँदै जाँदा आत्माको अवधारणा जन्मिएको हो ।

यस्तो निष्कर्षमा कसरी पुग्नुभयो र ?

अध्ययन गरेर । मैले वेद, उपनिषद, पुराणादि शास्त्र पढेँ, तिनमा भएका कुराहरूलाई गुनेँ र यो निष्कर्षमा पुगेँ । मेरो निष्कर्षको प्रतिरूप हो ‘मृत्युको आयु’ उपन्यास ।

अनि यो मृत्युको आयु नै लेख्ने विचार कसरी फुर्‍यो ? केले प्रेरणा दियो यस विषयमा लेख्न ?

पुस्तक वैदेशिक रोजगारमा गएको, कुनै प्राविधिक ज्ञान नभएको एउटा हरितन्नम गरिबको विषयमा छ । तर यस्तो कथा लेखेँ, जसको मृत्यु मालिकको फ्याक्ट्रीमा काम गरेर घर फर्कने बित्तिकै हुन्छ । मृत्युपछि शव ल्याउन अनेक झन्झट र अप्ठ्यारा खेप्नुपर्छ । कथा त्यहीँबाट सुरु हुन्छ र १३ दिने संस्कार सकिएपछि अन्त्य हुन्छ । खाडी भासिने अधिकांश नेपालीहरूको यस्तो कथाले मलाई छोयो र उनीहरूका विषयमा त केही लेख्नैपर्छ भन्ने प्रेरणा जागृत भयो ।

पुस्तक लेख्न कति समय लाग्यो, कुन–कुन कुरामा मेहेनत गर्नुभयो ?

पुस्तक तयार हुन तीन वर्ष लाग्यो । यसका लागि मैले मृत्युका विषयमा, विभिन्न धर्मका मृत्युसंस्कारका विषयमा अध्ययन गरेँ । गरुडपुराण, शिवपुराण एवं मृत्युसंस्कार विधिको अध्ययन गरेँ । बेलाबेला आर्यघाट जाने, घन्टौं जलिरहेको लास र उनीहरूको आफन्तका क्रियाकलाप हेर्ने, अपरिचित किरियापुत्रीहरूसँग आफन्तजस्तो भएर उनीहरूका कुरा सुन्ने गरेँ ।

बीचबीचमा दुबई, ओमान र बहराइनजस्ता खाडी मुलुक जाने मौका मिल्यो । मैले त्यहाँका नेपालीहरूको अवस्था, अरबी कानुन एवं विभिन्न किसिमका किस्सा सुनेँ । मृत्युपछि शवलाई कसरी महिनौंसम्म नगल्ने बनाइन्छ भन्नेजस्ता कुराका प्राविधिक पक्ष चिकित्सक भएकाले मलाई पहिल्यै थाहा थियो तर त्यसका लागि आवश्यक औषधिका नाम, भित्री अङ्ग निकाल्ने तरिका र पोस्टमार्टम गर्ने विदेशी शैलीहरू पनि पुनःअध्ययन गरेँ ।

तपाईंको यो पुस्तक पाठकले किन पढ्ने ?

यो उपन्यास आम उपन्यासभन्दा फरक छ, यसको शैली नितान्त नयाँ छ । यसमा हिन्दू परम्पराको मृत्यु संस्कार, शव व्यवस्थापनको सम्पूर्ण प्रकिया, चिकित्सा तथा विज्ञानको सन्तुलित संयोजनजस्ता विविध जानकारीमूलक कुरा छन् ।

यसले मृत्युलाई अनेक कोणबाट दर्शाउने चेष्टा गरेको छ, यसमा मृत्युको एकसुरे वर्णन नभई समाजका अनेकौं आयामलाई केलाइएको छ । अन्याय, अत्याचार एवं ढोंगप्रति व्यङ्ग्य छ भने संस्कार र परम्पराको नाममा महिलामाथि हुने विभेद पनि छ । खासमा मृत्युको आयुलाई जीवनको पूर्ण प्याकेजका रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा हेर्न सकिन्छ भन्ने लाग्छ ।

अहिले आख्यानात्मक पुस्तकको बजार खुम्चिएको चर्चा यत्रतत्र पाइन्छ, यस्तो समयमा तपाईंको पुस्तकले अपेक्षित सफलता प्राप्त गर्‍यो त ?

पक्कै पनि । अपेक्षाभन्दा पनि राम्रो भयो । पाठकहरूले यसलाई निकै रुचाए ।

पाठकहरूमा आख्यानप्रति मोहभंग भएकै हो त ?

आख्यानका पाठक घटेका छन् भन्ने कुरामा मेरो विमति छ । बरु पाठकहरूको रुचिअनुरूप, उनीहरूले पढ्न खोजेजस्तो कृति लेख्न नसकिएको हुनुपर्छ । केही लेखकले पर्याप्त अध्ययन नगरी हचुवाका भरमा जेसुकै पनि लेखिदिने गर्नाले पाठकहरू बिच्किएका हुनसक्छन् । अहिलेका पाठक विश्वका उत्कृष्ट कृति पढेर खारिएका छन् । उनीहरूको चित्त बुझाउन त्यहीअनुरूप लेख्न सक्नुपर्छ, विषय र शैलीमा नयाँपन दिनसक्नुपर्छ । त्यसो नभए पाठकले पढ्दैनन् । तर नेपाली पाठकहरूले आख्यान रुचाउन छाडेका हुन् भन्नचाहिँ मिल्दैन ।

तपाईंको कृतिमा त्यस्तो नयाँपन छ त ?

छ, मेरो विधा लघुकथा हो । मैले उपन्यासमा लघुकथा लेखनको विधि अपनाएँ । पाठकहरूले यसमा नयाँ स्वाद पक्कै पनि पाउँछन् ।

यस्तो गर्न कसरी सफल हुनुभयो ?

लेखन थाल्दा म सिंगो पुस्तक पढिसक्दा उपन्यास र एउटा शीर्षक पढ्दा सिंगो लघुकथा पढेको महसुस हुुनपर्छ भन्ने विचारले अभिप्रेरित थिएँ । कुरा मुस्किल थियो, एकातिर लघुकथाको मर्म तोडिनु हुँदैनथ्यो, अर्कातिर लघुकथाहरूको चेन फुस्कन नदिई उपन्यास निर्माण गर्नुपर्थ्यो । फेरि लेखनको विषय पनि मृत्यु थियो, बडो संवेदनशील ! अलिकति थोरै मात्र शब्द तलमाथि हुँदा पनि आनका तान पर्ने सम्भावना हुन्थ्यो । तसर्थ दर्जनौं पटक पुनर्लेखन गर्दै प्रारम्भमा दुई सय पचास शीर्षकका कथा भएकामा पछि १ सय ६६ लाई मिलाएर पुस्तकमा राखेँ ।

पुस्तक तयार हुँदा यसले अहिलेको सफलता पाउला भन्ने सोच्नुभएको थियो ?

फरक शैली र विषयवस्तुका कारण पाठकहरूले यसलाई रुचाउनुहुन्छ भन्ने त लागेको थियो तर यो स्तरमा पाठकहरूले रुचाउनु होला भन्ने कल्पना गरेको थिइन ।

मृत्युको पनि आयु हुन्छ : डा. रवीन्द्र समीर