‘म ‘म’ भएर बाँच्न चाहन्छु’ : रेखा थापा (भिडियोसहित)

‘म ‘म’ भएर बाँच्न चाहन्छु’ : रेखा थापा (भिडियोसहित)


काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेकी अभिनेत्री हुन् रेखा थापा । आज पनि नेपाली चलचित्र जगतमा नायिका थापाको उपस्थिति उल्लेख्य र अर्थपूर्ण मान्ने गरिन्छ ।

महिला हक हित र अधिकारका लागि सधैं सशक्त रुपमा उभिन चाहने रेखा त्यस मुद्दामा पनि उत्तिकै क्रियाशील र सशक्त ढंगबाट प्रस्तुत हुने गरेकी छिन् । कलाकारिताको पृष्ठभूमीबाट आफ्नो पहिचानलाई सशक्त बनाएकी थापा आज आएर राजनीतिक धारतर्फ झुकेकी छिन् ।

उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित केन्द्रीय सदस्यका रुपमा क्रियाशील छिन् । पार्टीको प्रवास विभाग प्रमुखका रुपमा काम गर्दै आएकी रेखा आगामी दिनमा सफल राजनैतिक यात्रा तय गर्ने महत्वाकांक्षा राख्छिन् । रेखा भन्छिन्- ‘राप्रपामा पनि देशभरका कार्यकर्ताले रुचाएर केन्द्रिय राजनीतिमा आएकी हुँ, त्यसैले अब कलाकारितासँगै राजनैतिक यात्रालाई पनि महत्व दिन्छु ।’

भिडियो :

चलचित्र क्षेत्रमा विभिन्न तवरबाट चर्चामा रहिरहने रेखा पछिल्लो समय आफ्नो फिटनेस शैलीका कारण चर्चामा छिन् । गत फागुनबाट नेपाली चलचित्र उद्योग ठप्प छ । चलचित्र गतिबिधी ओझेलमा परेको छ । तर नेपाली चलचित्र बजारले विभिन्न प्रकारका विवाद र गसिपका मुद्दालाई झेलिरहेको छ ।

यही बीचमा रेखा थापाको फिटनेस शैलीले पनि स्थान पाइरहेको छ । सुरुमा आफू निकै मोटो र भद्दा रहेको, अनि आफ्नै आमा / दिदीबाट ठट्यौली पारामा ‘बडी सेमिङ’ मा पर्न थालेपछि उनी आफूलाई परिवर्तन गर्न लागि परिन् । ‘मैले ४/५ वर्ष आफ्नो जीवनलाई सोचे जस्तै गरेर सकेजति खाने, सुत्ने हिसाबले बिताएँ । अर्थात् अरुले झैं ऐस आरामले विताएँ, पछि मोटाउँदै गएँ’ , रेखा एक वर्ष अघिको स्मृतीमा फर्किइन्, ‘ म त घरकी कान्छी छोरी तर, दिदी र आमाको छेउमा पनि उमेर ढल्केको देखिन थालेंछु । आमाले नै अप्रत्यक्ष रूपमा जिस्काउन थाल्नु भयो कि, ‘अब त स्कर्ट’ नलाए हुन्छ । दिदीहरूले जिस्काउन थाले, ‘घरकी कान्छी छोरी रे सबैभन्दा बुढी देखिन्छे’ ।

अवस्था पनि त्यस्तै रहेछ, चलचित्र क्षेत्रमा उनको उपस्थिति न्युन हुँदै जाँदा खानपानमा र आराममा बढी समय बित्यो । त्यो समय न उनको खाने समयको टुंगो थियो न त सुत्ने समय नै थियो । यो समय उनको तौल ७० केजी पुग्यो , यसले उनी आफैंलाई पनि हताश बनायो ।

घरमा हुने त्यस प्रकारका संवादले रेखाको मन चस्क्यिो । उनले तत्काल निर्णय गरिन्, ‘अहँ अब यो पाराले त हुन्न । म बिहानबाटै शारीरिक अभ्यासका लागि तयार हुनु पर्छ ।’ उनले पुष महिनाको जाडोमै योग आश्रममा योग अभ्यास सुरु गरिन् । उनी सुनाउँछिन्, ‘मैले पुष महिनाको जाडोमा कुनै विलम्ब नगरि लाजिम्पाटस्थित ‘हट योगा सत्गुरू’ योग आश्रममा योग अभ्यास सुरु गरेँ ।’

तर, उनको त्यो तत्परता धेरै दिन टिकेन । १५ दिनको प्रशिक्षण पछि उनी पुनः केही निष्क्रिय भइन् । ‘१५ दिन पछि म पुनः केही आलस्य भएँ, मन लागे व्यायाम गर्ने नलागे त्यसै समय विताउन थालें ’, रेखाले आफ्नो कमजोरी आफैं औंल्याइछन् ‘यस्तो बानीले म आफैं असन्तुष्ट थिएँ ।’

अब, उनले आफैं व्यक्तिगत प्रशिक्षक राखेर आफ्नो दैनिकी परिवर्तन गरिन् । हरेक दिन जीम जाने, शारीरिक अभ्यास गर्ने, अथात् उनी दैनिक व्यायाम र शारीरिक अभ्यासमा आफूलाई अभ्यस्त बनाउँन चाहन्थिन् र उनको त्यो उद्देश्यले आजसम्म पनि निरन्तरता पाइरहेकै छ । ‘त्यो बेला ६९/७० केजी थिएँ , विस्तारै आएर आज ५० को हाराहारीमा छु,’ उनी मेहनतको प्रतिफल सुनाउँछिन्, ‘आज शरीरमा नकारात्मक सोच, नकारात्मक दृष्टिकोण, आलस्यता र नैरास्यता छैन । चन्चल मन र मस्तिष्कले जीवन यापन गर्न पाएकी छु, खुसी छु ।’

शारीरिक व्यायाम अब रेखाको जीन्दगीको कार्यतालिका नै बनेको छ । भन्छिन्, ‘आज मलाई एकदमै राम्री हुनु छैन, जिरो फिगर पनि चाहिएको छैन । तर, व्यायाम मेरो जीन्दगीको रुटिन बनिसकेको छ । अब, म ‘म’ भएर बाँच्न चाहन्छु,’ उनी थप्छिन्, ‘हिजो अभिनयका क्रममा विभिन्न शैलीमा प्रस्तुत भएँ होला, त्यो केवल पर्दाका लागि थियो । तर, एउटा कलाकारले वास्तविक जीवनमा पनि बाँच्न सक्नु पर्छ । पर्दामा मात्र नभएर वास्तविक समाज परिवर्तन गर्न सक्ने हेक्का राख्नु पर्छ । त्यसैले सबै भन्दा पहिले आफ्ना लागि गर्ने हो र आज म मेरा लागि गरिरहेकी छु ।

रेखा यतिबेला शारीरिक रुपमा सौन्दर्य र तन्दुरुस्त मात्र छैनन् । केही आद्यात्मिक पनि बनेकी छिन् । ‘कर्म मात्र गर्ने तर, त्यहाँ धर्म छैन भने जीवनको के अर्थ ?’ उनी प्रश्न गर्छिन्, ‘ हरेक मानिसले स्वयं भित्रको ईश्वरलाई मान्न सक्दैन भने त्यसको के औचित्य ?’

‘हामीले आवरणलाई मात्र श्रृंगार गर्ने होइन’ आफू हिरोइन भएको नाताले आम प्रशंसकलाई सुझाव दिदैं उनी आफ्नो विगतमा फर्किन्छिन्, ‘हिजो सम्म नेपाली फिल्म उद्योगमा शारीरिक सौन्दर्यतामा उति ध्यान नदिने अभिनेत्री सायद मै थिएँ होला, अर्कातर्फ समाज सुहाउँदो पहिरन लगाउने मान्छे पनि मै थिएँ होला, यति हुँदाहुँदै पनि आजको नियमित योग अभ्यास, व्यायास अनि खानपानले जीवन सकारात्मक सोचतर्फ उन्मुख छ । आफंैले आफूलाई चिन्ने अवसर पाएकी छु ।’ रेखाले यो दावी गरिरहँदा विगतमा उनले लगाउने पहिरनकै बारेमा हुने चर्चा परिचर्चा र गसिपका विषयलाई भने आज गौण मान्न सकिन्न ।

केही चलाखीपन अपनाउँदै रेखा थप्छिन्, ‘रेखा थापा भयंकर जान्ने भइ भनेर नभन्नु होला, तर, म हरेक नेपालीलाई भन्छु : सुन्दर हुनका लागि मात्र शारीरिक अभ्यासमा लाग्नु पर्ने होइन । आज हाम्रो समाज धन–सम्पत्ति, दौलत अनि सफलताका पछाडी दौडिरहेको छ, यसैमा रमाइरहेको छ । तर, हामी के भूलिरहेका छौं भने आफ्नो अत्यन्तै महत्वपूर्ण र मूल्यवान शारीरिक र मानसिक स्वास्थ्यमाथि खेलवाड गर्दैछौं ।’

आधुनिक जीवन यापनमा रमाइरहेका आजको पुस्ता लक्षित हुँदै रेखा थप्छिन्, ‘‘आफ्नो घर–आफ्नो आत्मा’ लाई ऊ लत्याइरहेको छ, एन्जाइटी, डिप्रेसन लगायतका थुप्रै विषयले प्रसय पाइरहेको छ । त्यसैले अब पनि आफ्नो स्वास्थ्यप्रति चिन्तनशिल नहुने त ? आधुनिक समाजप्रति उनको प्रति प्रश्न छ ।’

‘शाष्त्रले पनि भनेको छ : योग गर अभ्यास गर आफ्नो शरीरलाई ध्यान देउ । गीतामा हरेक मानिसले गर्नुपर्ने राम्रा व्यवहारलाई औल्याइदिएको छ,’ धार्मिक चिन्तन उन्मुख हुँदै रेखा भन्छिन् ‘शारीरिक योग अभ्यास/व्यायाम गर्ने, खानाको अनुशासनमा बस्नेलाई म आँखा चिम्लिएर विश्वास गर्न सक्छु । उहाँहरू अनुसाशित मान्छे हुनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनी अन्त्यमा थप्छिन्, ‘म आज आफू स्वास्थ्य रहन प्रयत्नशिल छु र हरकोहीलाई, विशेष गरेर महिला दिदी बहिनीलाई अवस्था, ठाउँ हेरेर स्वास्थ्यका खातिर शारीरिक व्यायाम गर्नुहोस् ।’

Logo