भारतको सहयोगमा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन बन्यो

काठमाडौं । भारतले निर्माण गरिदिएको कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका १४ मा रहेको कुलेश्वर आवास माध्यमिक विद्यालयको भवन भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको थियो ।

एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले उक्त भवनको उद्घाटन गरे । उक्त उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य, वडा अध्यक्ष शोभा सापकोटा तथा जिल्ला समन्वय अधिकृत पीताम्बर अधिकारी लगायतको सहभागीता थियो ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको कुलेश्वर आवास माध्यमिक विद्यालय समुदायको सहयोगबाट सञ्चालित छ । हाल आठ सय विद्यार्थीहरु अध्ययनरत विद्यालयमा ५० प्रतिशत छात्रा छन् । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् ।

भारत सरकारको ३ करोड ८६ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित तीन तले भवनमा २० वटा कक्षा कोठा छन् । प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था छ । यस विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकाले खुशी व्यक्त गरेको छ ।