ज्ञानेन्द्र शाहीमाथि आक्रमणपछि माग्ने बुढाको यस्तो व्यंग

काठमाडौं । भ्रष्टाचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ । चितवनको चौबिसकोटीमा आयोजित कार्यक्रममा सम्बोधनका लागि पुगेका शाहीमाथि शनिवार दिउँसो सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थीहरुले कुटपिट गरेका थिए । राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं भन्दै उनीहरूले शाहीमाथि निर्घात कुटपिट गर्नुका साथै कार्यक्रम नै विथोलिदिएका थिए ।

सत्तारुढ दलका नेता कार्यकर्ताको यस्तो कदमको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुइ थरीका प्रतिक्रिया दिइरहेका छन् । एकाथरीले ज्ञानेन्द्र शाही जथाभावी बोल्न थालेकाले उक्त कदम सही भएको दाबी गरेका छन् । भने अर्काथरीले गणतन्त्रमा सबैलाई वाक स्वतन्त्रता भएको तर वाम सरकारले आवाजमाथि प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।

भ्रष्टाचारविरुद्ध बोल्न खोज्दा शाहीमाथि सरकारले यस्तो सजाय दिएको उनीहरुको दाबी छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नै एक आपसमा भिड्न थालेका छन् । पक्ष र विपक्षका प्रतिक्रियाले सामाजिक सञ्जाल यतिबेला युद्धभूमि जस्तै बनेको छ ।

उसैबीच हास्यकलाकार केदार घिमिरे माग्ने बुढाले उक्त कदमको व्यंगात्मक ढंगले विरोध जनाएका छन् । फेसबुकमा एउटा स्टाटस लेख्दै माग्नेबुढाले लेखेका छन्, ‘भ्रष्टाचारको बिरुद्ध बोल्नेलाई मुक्का । दुई तिहाईको उपहार केवल उखान टुक्का..’