मेरो नेपाल कप फुटबल प्रतियोगिता कात्तिक ३ देखि

पोखरा,

पोखरामा आगामी कात्तिक पहिलो हप्तादेखि पाँचौँ संस्करणको मेरो नेपाल कप खुला नकआउट सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

देशलाई चाहिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेरो नेपाल युवा क्लब पोखरा–१४ को आयोजनामा हुने प्रतियोगिता कात्तिक ३ देखि ८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक पृथ्वी कुँवरले जानकारी दिनुभयो । यसअघि असोज १० गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी गरे पनि प्राविधिक कारणले पछि सार्नु परेको क्लबको भनाइ छ ।

प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टिमले ७५ हजार ५५५ ट्रफी, मेडल प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका दुई टिमले १० हजारको पुरस्कार पाउनेछन् भने अनुशासित टिमले सात हजार तथा प्रमाणपत्र पाउने कुँवरले जानकारी दिनुभयो ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले सात हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्ताले जनही पाँच हजार र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा ४० टिम सहभागी हुने बताइन्छ । प्रतियोगिताबाट बचत भएको रकमले सामुदायिक व्यायामशाला निर्माण गर्ने योजना अघि सारिएको छ ।