मंसिर २८ गतेसम्म निर्वाचन मत परिणाम राष्ट्रपतिलाई बुझाउँछौँ -आयोग

मंसिर २८ गतेसम्म निर्वाचन मत परिणाम राष्ट्रपतिलाई बुझाउँछौँ -आयोग


निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहीता लागू हुने बताएको छ । 

आयोगले आचारसंहीताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू हुने र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । 

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहीता लागू भएको र आचारसंहीता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । सञ्चारकर्मीसँगको कुराकानीमा उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहीता जारी रहने बताए । 

सहायक प्रवक्ता अर्यालले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको टुंगो लागिसकेपछि मतहरुको हिसाव गरेर दलहरुलाई पत्र लेख्ने र दलहरुले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे । 

उनले भने- ‘आचारसंहीताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहीता लागू गर्न सक्नेछ भन्नेछ । लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ । निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहीता लागू रहन्छ । हामी अहिले निर्वाचनकै क्रममा छौँ । समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ । समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरुको हिसाव गरिसकेपछि दललाई हामीले पत्र लेख्छौँ । यति दिनभित्र आफ्नो प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ । त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो । आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपति कहाँ बुझाएर परिणाम प्रकाशन गर्छ । यो बेला सम्मको अवस्था आचारसंहीता लागू भएकै अवस्था हो ।’
 
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए । 

उनले भने- ‘आयोगले वस्तुनिष्ठ योजना बनाएको थियो । ४ गते वस्तुनिष्ठ रुपमा देशभर निर्वाचन सम्पन्न हुन्छ । १३ गतेसम्म नतिजा निकाल्छौँ, १४ गते दललाई पत्र लेख्छौँ समानुपातिकको लागि र २२ गतेसम्म टुग्याउने भनेका थियौँ । सबैकुरा योजना अनुसार नहुने रहेछ, कतै विवादहरु, भए, कतै मत गणनामा विवाद भए, मतका प्रकृतिमा पनि विवाद आयो । समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको मानिदैन । समानुपातिकमा उम्मेदवार भनेका दल हुन् । कुनैपनि उम्मेदवारको एक मत बाँकी रहँदासम्म निर्वाचन अधिकृतले नतिजा घोषणा गर्न सक्दैन । सबै निर्वाचन क्षेत्रबाट दलले प्राप्त गर्ने मत यकिन भइसकेपछि हामीले सूत्र प्रयोग गरेर कुन दलको भागमा कति सिट पर्छ टुंग्याउँछौँ । आयोगले चाहेर मात्रै नहुने कुराहरु पनि छन् । केही प्रक्रिया लम्बिन सक्छ । हामीले २६/२७ गतेसम्म वा २८ गतेसम्म हामीले राष्ट्रपति समक्ष पु-याउन सक्नेछौँ ।’
 
सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताए । 

Logo