सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै

सुदूरपश्चिम प्रदेश सभाबाट दुई दल बाहिरिए, दुई नयाँ दल थपिँदै


सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यसपटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुईवटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् । जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन । 

२०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदै छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिक पद्धतिबाट दुई गरी नागरिक उन्मुक्तिका सातजना प्रदेश सभामा उपस्थित हुन लागेका छन् ।

यसैगरी प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ । सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित छ ।

सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने जम्मा दलको संख्या भने ६ नै कायम हुने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो । २०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या चार थियो । सुरुमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेश सभामा सहभागिता रहेको थियाे ।

राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा एक सिट प्रत्यक्ष र एक सिट समानुपातिक कोटाबाट जितेको थियो । तर निर्वाचनको केही समयमै एमाले र माओवादी केन्द्र मिलेर (नेकपा) बनेपछि प्रदेश सभामा सहभागि दलको संख्या तीन कायम भएको थियो ।

तर प्रदेश सभाको मध्य कार्यकालसम्म आइपुग्दा एमालेलाई अदालतले विभाजन गरेसँगै फेरि प्रदेश सभामा सहभागि हुने दलको संख्या चार पुग्यो । त्यसलगत्तै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको पनि प्रदेश सभामा सहभागिता हुँदा प्रदेश सभामा पाँच दलको सहभागिता थियाे । एमाले विभाजनलगत्तै फेरि जसपाबाट अलग्गिएर राजेन्द्र महतोले लोसपा गठन गरेपछि प्रदेश सभाको अन्यमा सहभागी दलको संख्या ६ बनेको थियो । 

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एकीकृत समाजवादी र एमालेले समान तीन-तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपशिचम प्रदेश सभामा २० जना सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट छानिने छन् । समानुपातिक प्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले सात-सात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपाले एक सिट प्राप्त गर्ने देखिएको छ ।

Logo