यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद [नामावलीसहित]

यी हुन् प्रतिनिधिसभामा ७० वर्ष नाघेका १४ सांसद [नामावलीसहित]


प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १४ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा  युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् । 

आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसबाट पार्टी सभापतिसहित ५ जना ७० वर्ष नाघेका सांसद छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा हाल ७७ वर्ष पुगेका छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित देउवा बहालवाला प्रधानमन्त्री हुन् भने फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा सामेल भइरहेका छन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७८ वर्षका भए ।  उनले तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका हुन् । पौडेल पनि अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बन्न लबिङ गरिरहेका छन् ।  यस्तै, बहालवाला परराष्ट्र मन्त्री समेत रहेका डा. नारायण खड्का पनि ७३ वर्ष पुगे । नेपाली कांग्रेसबाट उदयपुर- १ बाट निर्वाचित खड्का पनि संसदमा ७० वर्ष कटेका सांसद हुन् । 

मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित कांग्रेस नेता डा. शेखर कोइराला पनि ७२ वर्ष पुगेका छन् । कांग्रेसमा संस्थापनइतर समूहको नेतृत्व गरिरहेका डा. कोइराला कांग्रेसका प्रभावशाली नेता हुन् । यस्तै, नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस नेता अर्जुननरसिंह केसी पनि ७५ वर्ष पुगेका छन् । 

यस्तै, प्रतिनिधिसभातर्फ ४४ सिटसहित दोस्रो पार्टी बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० वर्ष पुगेका छन् । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित अध्यक्ष ओली यसअघि दुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् ।  एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित मङ्गलप्रसाद गुप्ता पनि ७७ वर्ष पुगेका छन् । 

नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा एक सिटमा ८० वर्षीय महिन्द्र राय यादव निर्वाचित भएका छन् । सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादव पूर्वमन्त्री समेत हुन् । जनता समाजवादी पार्टीबाट ७३ वर्षीय नवलकिशोर साह सुडीले चुनाव जितेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीबाट ८० वर्षीय महन्थ ठाकुर निर्वाचित भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद ठाकुर लोसपाका अध्यक्ष समेत हुन् । यस्तै लोसपाबाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला पनि निर्वाचित भएका छन् । 

राप्रपाबाट ७१ वर्षीय दीपक बोहराले पनि चुनाव जितेका छन् ।  उनले रुपन्देही क्षेत्र नम्बर २ बाट चुनाव जितेका हुन् । राप्रपाकै अर्का सांसद ७३ वर्षीय ध्रुवबहादुर प्रधानले पनि निर्वाचन जितेका छन् । उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । 

यस्तै एक सिट मात्र जितेको राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी ८० वर्ष पुगेका छन् । उनी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । 

Skip This
Logo