केएमसि पूर्व विद्यार्थी संघको आयोजनामा मुगुमा निःशुल्क स्वास्थ्य शिविर (फोटो फिचर)

मुगु,

केएमसि पूर्व विद्यार्थी संघको आयोजनामा सोमबार श्री नेपाल राष्ट्रिय आधारभूत मा.वि, छायानाथ रारा नपा वडा नं ५, मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको परिक्षण सँगै निःशुल्क औषधि वितरण कार्यक्रम समेत सम्पन्न भएको छ।

मौसमको प्रतिकूलतामा समेत काठमाडौंबाट चार दिन लगाएर गाडी नपुग्ने उक्त स्थानमा भरियाद्वारा औषधि बोकाएर समेत यस संस्थाले बृहत स्वास्थ्य शिविर गर्न सफल भएको हो । साथै उक्त स्वास्थ्य शिविरबाट जिल्ला अस्पतालको पहुँचमा नभएका छायानाथ नगरपालिकाका सम्पूर्ण बासिन्दाले स्वास्थ्य लाभ लिएका छन्।

केएमसि एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं ५ को सहकार्यमा सम्पन्न उक्त स्वास्थ्य शिविर मा करिब ६०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा.अच्युत शाली घिमिरेले जानकारी दिनुभयो। साथै यस अघि पनि कोशी टापु, सुनसरी, धादिङ र धेरै विकट जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै असक्त, बालवृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्दै आएको र यस पटक मुगु जिल्लामा कार्यक्रम लिएर आउन पाउँदा धेरै नै खुशी लागेको डा घिमिरेले बताउनुभयो।

शिविरमा बाल रोग, नशा तथा हाडजोर्नी समस्या, छाला रोग, स्त्री तथा प्रसुती रोगका साथै अन्य जनरल रोगका बिरामीहरुको उपचार उचित परामर्श र निःशुल्क औषधि वितरण गरिएको चिकित्सक टोलीका संयोजक डा पुरुषोत्तम अधिकारीले बताउनुभयो । उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी सम्बन्धि रोग, एक सय बिरामी महिला तथा स्त्री रोग र अरु रोगका बिरामीहरु जनरल रहेको कार्यक्रम संयोजक नविनराज चौलागाईले बताउनुभयो।