भरतपुरमा खानेपानी फ्री !

भरतपुरमा खानेपानी फ्री !


भरतपुर महानगरपालिकाले यसै महिनादेखि प्रति परिवार मासिक ७ हजार लिटर पानी निशुल्क दिने भएको छ ।

मंसिर महिनाबाटै कार्यान्वयनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ खानेपानी उपभोक्ता समितिसँग ७ हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएसँगै भरतपुरमा ७ हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी थिइन् । पदभार ग्रहण गर्दा गरेका दुई वटा निर्णय मध्ये छोरी-बीमा कार्यक्रम यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

निःशुल्क खानेपानी वितरण गरेबापत महानगरपालिकाले बोर्ड र खानेपानी उपभोक्ता समितिलाई मासिक शुल्क तिर्ने गरी सम्झौता भएको छ । मेयर दाहालले पहिलो पटक मेयरमा निर्वाचित भएपछि खानेपानीको पहुँचलाई सबै नगरबासीसम्म पुराउने गरी विभिन्न आयोजना निर्माण गर्न ठूलो रकम विनियोजन हुँदै आएको बताएकी छिन । अबको दुई वर्षभित्र शतप्रतिशत भरतपुरबासी खानेपानीको पहुँचमा पुग्ने र ४७ हजार नयाँ धारा जडान भइसक्ने मेयर दाहालले जानकारी दिइन् । 

महानगरपालिकाले उपभोक्ताको माग बमोजिम पानी आपूर्ति गर्ने नीति अनुसार डीप बोरिङ थप गर्ने गरी स्रोतको खोजी गरिरहेको जनाएको छ । हाल भरतपुर खानेपानी बोर्ड र खानेपानी उपभोक्ता समितिमार्फत ४५ हजार २३३ घरधुरी खानेपानीको पहुँचमा रहेका छन्। महानगरले स्वच्छ पानी सुनिश्चित गर्ने योजना अघि सारेपनि मिटर जडान महँगो भएको उपभोक्ताहरुले बताउँदै आएका छन् । भरतपुरमा खानेपानीको मिटर जडानमा झण्डै १५ हजार रुपैयाँ लाग्ने गरेको बताइएको छ । 

देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले सडक सञ्जाल बिस्तार र स्तरोन्नतिमा उल्लेखनीय काम गरेसँगै अन्य पूर्वाधारमा पनि जोड दिन थालेको बताइएको छ ।

Logo