नरसिंह हत्या प्रकरण: वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

नरसिंह हत्या प्रकरण: वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ


दार्चुलाकाे ब्याँस गाउँपालिका- ४ डोकटका ४० वर्षीय नरसिंह विष्टको हत्या प्रकरणको अनुसन्धानमा वर्तमान र निवर्तमान दुई वडाध्यक्ष पनि मुछिएका छन् ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएर अर्को दिन हत्या गरिएको अवस्थामा फेला परेका विष्टको घटनामा अनुसन्धान गर्न प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष, पूर्व वडाध्यक्षसहित थप एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५५ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो ।

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ४० वर्षीय विष्ट मङ्सिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा मृत अवस्थामा फेला परेका थिए । विष्टको शरीरमा चोटपटक लागेको थियो । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटेल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न मङ्सिर ३ गते दिउँसो खलङ्गाबाट घर गएका थिए ।

घटना लगत्तै प्रहरीले सोही सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो ।प्रहरीसँग उनले आफू घटनामा संलग्न रहेको बयान दिएका थिए । घटनामा दोषि पुष्टि गर्दै प्रहरीले मङ्सिर १२ गते प्रहरीले दिपकलाई सार्वजनिक गरेको थियो । दिपकले मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिकाको वडा नम्बर ४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह विष्ट भेट भएको र आफूले मादक पदार्थ सेवन गरेको अवस्थामा विवाद भएपछि उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीलाई बताएका थिए ।

घटनामा एक जना दोषी पुष्टि हुँदा पनि प्रहरीले घटनाको अनुसन्धान सकेको छैन । यस विषयमा थप अनुसन्धान आवश्यक रहेको हुँदा थप निवर्तमान र वर्तमान वडाध्यक्ष सहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

Logo