क्रिकेट संघको नयाँ नेतृत्वलाई आईसीसीको स्वागत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघले चयन गरेको नयाँ नेतृत्वको स्वागत गरेको छ । केहीअघि सम्पन्न संघको विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

विज्ञप्तिमा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘ हामी काठमाडौंमा विकसित घटनाक्रमप्रति खुसी छौं, जुन पछिल्लो तीन वर्षदेखि जारी आईसीसीको सुधार प्रयासको परिणाम हो । यसले नेपाली क्रिकेटमा एकता ल्याएको छ ।’

ख्वाजाले यो स्मरणयोग्य प्रगतिका लागि प्रशंसक, खेलाडी, प्रशासकलगायत सबैलाई बधाई लिएका छन् । साथै सल्लाहकार समूह र स्वतन्त्र टोलीलाई विशेष धन्यवाद दिएको छ ।

विज्ञप्तिमा प्रतिबन्धका बाबजुद पनि नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएको, युवा र महिला टिमले राम्रो प्रदर्शन गरेको भन्दै आईसीसीले निलम्बनपछि पनि नेपाली राष्ट्रिय टिमलाई खेल्न दिने आफ्नो निर्णय सही भएको पुष्टि गरेको बताएको छ ।

ख्वाजाले नयाँ कार्यसमितिले कार्यक्षेत्रमा पनि प्रगति गर्ने आशा व्यक्त गर्दै भनेका छन्, ‘आईसीसीको निलम्बन फुकुवाका लागि प्रमुख शर्त पूरा भएको छ । अब दुबईमा बस्ने आईसीसी बोर्ड बैठकले भावी कदमबारे निर्णय गर्नेछ ।’