विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौं -कुलमान घिसिङ

विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौं -कुलमान घिसिङ


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । 

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् । उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए । 

कार्यकारी निर्देशक घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । 

उनले भने, ‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेशनहरु बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं । विद्युत प्रशारण वितरण र सव स्टेशनको विकास नभइ धेरै विद्युत खपतको अपेक्षा गर्न सक्दैनौं । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर,गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं । गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ ।’
 
कार्यकारी निर्देशक घिसिङले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए । उनले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताए ।

Logo