तनहुँमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै

तनहुँमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै


व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । 

यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई रु एक लाख १५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिए । 

अनुशासित टोलीलाई रु आठ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ  । 

उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय र म्यान अफ द म्याचमा रु एक हजार पाँच सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिए । 

विसं २०५५ मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले जनाएको छ । 

प्रतियोगितामा रु नौ लाख सत्ताइस हजार एक सय दश खर्च हुने र रु आठ लाख सात हजार एक सय दश अपुग रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए । उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, आमा समूह, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको उाले बताए । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले मङ्सिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ ।

Logo