भ्रष्टाचारीलाई निरुत्साहन गर्दै समृद्ध भविष्य निर्माण गर्नु आजको आवश्यक्ता -मुख्यसचिव बैरागी

भ्रष्टाचारीलाई निरुत्साहन गर्दै समृद्ध भविष्य निर्माण गर्नु आजको आवश्यक्ता -मुख्यसचिव बैरागी


मुख्यसचिव शंकरदास बैरागीले सबै मिलेर भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । 

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा भएको प्रगतिले मुलुकको सुशासनको सुचकांकमा समेत सुधार भइ अन्तर्राष्ट्रिय स्तरमा मुलुकको प्रतिष्ठा र छवि उँचो हुने बताए । 

मुख्यसचिव बैरागीले सार्वजनिक प्रशासन बेथिति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि नगरी नागरिक र देशको सेवामा लाग्न आवश्यक रहेको बताए । उनले सरकारी निकायहरुले कानून र कार्यविधिको व्यवस्था अनिवार्यरुपमा पालना गरी सबै क्षेत्रमा कडाईकासाथ लागू गर्नेकुरामा जोड दिए । 

भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यक्ता भएको उनको भनाई छ । 
 
उनले भने- ‘भ्रष्टाचारले हाम्रो सामाजिक सेवा, प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रमा नकारात्मक प्रभाव सिर्जना गर्ने भएकाले भ्रष्टारजन्य गतिविधिप्रति समाजका सबै सदस्य सचेत हुन जरुरी छ । भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्दै समृद्ध भविष्यको आधारशीला निर्माण गर्नु आजको आवश्यक्ता हो ।’ 
 
मुख्यसचिव बैरागीले सबै निकायको तत्परता र सबै निकायको सहकार्यमा मात्रै भ्रष्टाचारलाई नियन्त्रण गर्न सम्भव रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहमा देखिएको विकृति, विसंगति र समस्याको समाधान गर्दै सार्वजनिक सेवालाई चुस्त, सहज, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक रहेको बताए ।

Logo