शाही, रवि, पूर्वराजा र सरकार: संस्कार कि सोच ?

  • रमेश भट्टराई ‘सहृदयी’-

नियाल्ने नै हो भने पत्रकार रवि लामिछानेको वकालत गर्न उर्लिएको जनसागरले आदर्श र जुझारु नेतृत्वको अनुशासनका लागि सन्देश दिएको हो । भ्रष्टाचारको विरोध गर्नु ज्ञानेन्द्र शाहीको सकारात्मक सोच हो । राष्ट्रको अहीत माथिको विद्रोह हो जुन अहिलेको हकमा आवश्यक थियो । पत्रकार रवि लामिछानेलाई यत्तिका भीडले समर्थन जनाउनु हुँदैन थियो । या त पूर्वराजाका पक्षमा जनता कुर्लिनु हुँदैन थियो भन्ने हो भने यी सबै एक–एक व्यक्ति हुन् जुन नेपालकै नागरिक हुन् । तिनले कसैका लागि केही चुकाए, गुमाए, बोले भने देशका निम्ति बोले ।

सरकार पनि देशको हित चाहन्छ र जनता पनि । तर, शाहीमाथिको आक्रमणले बर्बरताको दम्भी चरित्रलाई इङ्गित गर्दै छ । विरोध गर्नै नहुने, समर्थन र जयजयकार मात्र गरिरहनुपर्ने तर कार्यशैलीमा शुद्धता नहुने शैलीले आडम्बरको संज्ञा दिन्छ । शाही त एकजना व्यक्ति न हुन् अनि यत्रो जत्था, सरकारका पक्षधर हौँ भन्दैमा राणाशासने शैली, तानाशाही चरित्र प्रदर्शन गरिन्छ भने त्यो त झन आदर्शताको खिल्ली उडाइएको हो । जनताले दिएको मतको उपेक्षा हो । शक्तिको सरासर दुरुपयोग हो । किनकि आफू नेतृत्वमा हुँदा त अझ आदर्शता र प्रेमले जनताको मन जित्ने कार्य गर्नुपथ्र्यो । तसर्थ आवेश, प्रतिशोध र आक्रामक अनैतिकता हो ।

विरोध र समर्थन गर्ने हक सबैलाई हुने भएकाले नै लोकतन्त्र हो । शाहीलाई कतिपय स्थानमा आउन नपाउने भन्दै उर्दी जारी भएको विषय त झनै निन्दनीय व्यवहार हो । यो लोकतान्त्रिक युगमा दम्भको ढोल पिटेर राजनीतिक पूर्वाग्रह राखिन्छ भने त्यो तानाशाह नै हो ।

मानवीय व्यवहारले खराब मान्छेलाई पनि असल बनाउन सकिन्छ, शत्रुलाई पनि मित्र बनाउन सकिन्छ ।

हो, शाहीको तरिका मिलेन । काम गर्न तल्लिन भएका जुझारु युवा नेतामाथि जाइलागे । पर्यटन मन्त्रीले धैर्यता देखाए तर शाही गर्जिरहे । मन्त्रीले माफी मागिसक्दा पनि शाही सञ्चार माध्यममा गर्जिरहे । फेसबुकमा पनि दम्भी स्टाटस राखेकै हुन् । हो, नेपालगञ्ज विमानस्थलको उनको रौद्र रूप र भाषाशैलीको तरिका मिलेन यो बहसको विषय लगभग भइरहेको अवस्था नै हो तर शाहीमाथि भएको चितवनको हमलाले बहुमतको सरकारको नादानी हैसियत प्रदर्शन गराउँछ । नेपालका हरेक नागरिकको जिउधनको सुरक्षा र न्याय दिलाउने कार्यभार नेतृत्व वर्गको हातमा हुन्छ ।

जनताले चाहे पूर्वराजाका पक्षमा वकालत गरून् या सरकारको विरोध गरून्: लोकतान्त्रिक युगको सुविधा हो । कसैको विचारलाई शक्ति र दबाबका आडमा समर्थन गरिरहनुपर्छ भन्ने हुँदैन । सरकारकै कार्यकर्ता किन सरकारकै विपक्षमा आवेश पोखिरहेका छन् । यसको अर्थ सरकार जनवादी बन्न सकेन ।

तर, जनताले यी सबै घटनाबाट जनवादी बन्न, घरदैलोको दुःखलाई मलमपट्टि गर्न जनताले यस अवस्थामा विभिन्न तरिकाबाट आग्रह गरेको हो । विना दबाब भेला भएर परि आए गोली खान तयार हुने पत्रकार रवि लामिछानेको समर्थनको भीडले गलत सोचलाई खबरदारी नगरेको भन्न मिल्दैन ।

आखिर उनले कुनै भरौटे, झण्डेलाई भत्ता दिने, उराल्ने, पैसाको खोलो बगाउने कुकृत्य त गरेका थिएनन् नि । अनि त्यसबाट राम्रो काम गर्नेको खडेरी लागेको भन्ने सन्देश प्रवाह गर्दैन र ! विश्लेषण निष्पक्ष र न्याय सङ्गत हुनुपर्ने हो तर केही सञ्चार माध्यमले त समाचारमा समेत सकारात्मक विचार व्यक्त गर्न हिच्किचाएको देखिँदो रहेछ ।

राजनीतिक घटनालाई मात्र प्राथमिकता दिइने परिपाटी रहेछ जसरी कि हुकुमी निरङ्कुशताको चाकडीवाजको दृष्टान्त । मननीय पक्ष हो, त्यो भीडमा पक्ष र विपक्षमा वकालत भयो । प्रश्न उठ्ला– हुलहुज्जत र जत्थाका पछि दगुर्ने भीडतन्त्रले नीति र कानुनलाई कसरी स्वीकार गर्छ ? नीति र कानुनलाई मान्नुपर्छ भनेर सबैले बुझेका छन् । विडम्बना नै भनौँ– एउटा पक्षले हनुमान बनेर समर्थन जनाउँछ भने अर्को एउटा समाज कमजोरी नै छैन भन्दै पानीमुनिको ओभानो बन्छ ।

आजको सामाजिक सञ्जाल र डिजिटल माध्यममा विरोध र समर्थनको विश्लेषणहीन संस्कार बस्योे । त्यसैमा जमात ओइरिन थाल्यो । शक्तिको आडमा रहेर कसैमाथि स्वार्थी आक्रमण गरिन थालियो । यसले सूचना र सञ्चारको सही प्रदर्शन र प्रयोग हुन सकेको देखिँदैन । विस्तविकता, विश्लेषण गर्ने सोच नै रहेन । आज त यथार्थवादी भएर गलतलाई गलत र सहीलाई सही हो भन्ने मानसिकताकै खडेरी हुन थाल्यो । हरेक घटनामा पक्ष र विपक्षको दोहोरी चल्न थालेको छ ।

आज पनि बहस भइरहेका छन्, पर्यटनमन्त्री दोषी कि ज्ञानेन्द्र शाही ? मन्त्री विमानस्थलमा आइपुग्न ढिलो गर्नु र एयरलाइन्सले प्लेन रोक्नुमा कमजोरी भएकै हो । जनताले सचेतताका लागि यस्ता विषयमा खबरदारी गर्नुलाई पनि आपत्तिको विषय हो भनिरहनु पर्दैन । जनताले सत्यको वकालत गर्नुपर्छ । प्रजातान्त्रिक युगमा बोल्न पाउनुपर्छ, राम्रोको लागि आवाज बुलन्द पनि गरिनुपर्छ तर हुलहुज्जत र आक्रामक बन्नुपर्छ भन्ने विषय असान्दर्भिक छ । गलतलाई गलत भन्न पाउनु आम जनताको नैसर्गिक हक नै हो ।

खबरदारी गरियो, जनताको आक्रोश पोखियो तबसम्म पनि अस्वीकार्य नै भएको हो भन्ने होइन तर ज्ञानेन्द्र शाहीले प्रयोग गरेको भाषालाई भिडियो हेर्दा विलकुल आक्रामक र नियतवस पोखिएको क्रोध देखिन्छ । यसो भनिरहँदा उनका भ्रष्टाचार विरोधी विचारलाई धेरै जनताले स्वीकार गरेका छन् । तर, आक्रामकताले व्यक्तित्वको साख गिराउँछ । यतिखेर चितवनको घटनाले सिङ्गो समाजलाई सरकारपट्टि फर्केर औँलो ठड्याउन उत्प्रेरित गराएको छ । घटनाको चुरोलाई हेर्दा त शाही पनि देशको उन्नति नै चाहने मान्छे हुन् भने मन्त्री भट्टराई पनि देशकै हीत चाहने नेतृत्व हुन् । हामी जनता पनि त देशकै हीत चाहन्छौँ भने सबैको विचार र लक्ष्य एउटै हो । फरक यत्ति हो घटनालाई कसरी हेर्ने ?

पछिल्लो राजनीतिक घटनालाई सम्झौँ

हाँस्य कलाकार मनोज गजुरेलको भनाइ छ नि: “हेप्ने…..बहुमतको सरकारलाई हेप्ने….” । यो शैलीले कति दिन चल्छ ! सरकार त एउटा समूह हो नि तर विगत केही समय अघिका कुरा सम्झँदा जनताले विरोध गरे, कसले विरोध गर्यो, कसले के भन्यो भन्नेतिर सत्तापक्ष किन आत्तिँदै छ । प

शुपति शर्माको गीतले के भन्यो ? पत्रकार रवि लामिछानेका पक्षमा मान्छे किन उर्लिए ? ज्ञानेन्द्र शाहीका पक्षमा, पूर्वराजाका पक्षमा किन समर्थन र भीड बढ्यो ? के जनताले यो व्यवस्थासँग सन्तुष्ट भइन भन्न थाले भने दबाउने हो ? अनि पूर्वराजा पनि त यतिखेर एकजना आम नागरिक हुन् भने उनका हरेक कार्यको खुनखोत्रो गरिहरनुले भयभित भइरहेको बोध हुँदैन र !

यसो भन्दा बहुमतको सरकारले एक–एक व्यक्तिको पछि लाग्ने कि समुदायको मन जित्ने काम गरेर देखाउने हो ! उसो भए सरकारले जनताको मन तान्ने कि यस्ता विषयलाई दबाउने ? सायद यो विषय जति भन्न सजिलो छ, त्यति गम्भिर छ । सत्ता पक्षबाटै जनताका लागि अप्ठेरोमा अभिभावकत्व प्रदान गर्न नसक्नुबाट, खाली शत्रुकै आँखाले फरक देख्नुबाट अनि जनप्रतिनिधिको विलासी सोचको गन्धबाट जनतामा वितृष्णा फैलिरहेको होइन ? प्रजातान्त्रिक व्यवस्थामा कसैलाई मेटाएर आफू ठूलो बन्ने सपना देख्नुभन्दा उत्तम आफू महान् बनेर अरुलाई सानो बनाउन सिक्नुपर्छ ।

एक त आदर्शवादी नेताको खडेरी लागेर पनि जनता विरोध र वितृष्णाको ज्वालामा पिल्सिँदो रहेछ । परिवर्तन हुने कुरा जादुको छडी जसरी सम्भव हुँदैन यद्यपि पर्यटनमन्त्रीलाई काम गर्न दिइनुपर्छ। यो सबै जनताको चाहना हो भन्ने लाग्छ । उनले कार्यभार सम्हालेको दुई महिना मात्रै हुँदै छ तर उनले काम गरेर देखाउलान्, नदेखाउलान् अहिल्यै सही या गलत भन्दै टिप्पणी गर्नुको तुक छैन । उनी दुई महिनाकै बिचमा केही विवादमा तानिएका छन् तर राम्रा कामका केही योजनालाई पनि हेर्नु आवश्यक छ । हिँड्ने गोरुको पुच्छर निमोठ्ने, जे कुरामा पनि विरोध मात्रै गर्ने तर राम्रोलाई राम्रो भन्न नसक्नु हामी नेपालीको समस्या हो ।

अब जहाँसम्म भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र बहादुर शाही लगायतको आक्रोश थियो त्यसमा आक्रामकता गलत शैलीको र नियतवस प्रकृतिको देखिन्छ । गलत कार्यको खबरदारी भने अवश्य पनि गलत होइन । यद्यपि काठमाडौँमा अरु नेताका कारणले जाम भइरहन्छ भन्ने विषयकै जोड थियो भने मन्त्री योगेश भट्टराईप्रति खनिनु चाहिँ शोभनीय र सान्दर्भिक होइनथ्यो । यतिखेर चितवनमा शाहीमाथि भएको आक्रमण त झन निन्दनीय हो ।

हो, अन्य फरक तरिकाबाट सचेतना दिलाउँदा शाहीकै इज्जत बढ्थ्यो । अतः अहिलेको युगमा जो दोषी हो उसका विरुद्धमा कारणसहित अर्थपूर्ण तबरमा बोलिनु सान्दर्भिक हुन्छ । कसैमाथि भौतिक हमला हुनु, अपमानजनक भाषा बोल्नुले अराजक अशोभनीय चरित्रलाई इङ्गित गर्छ । यसको अर्थ अनपढ गँवारहरूको शैलीलाई किटानी हुन्छ । गल्तिको प्रकृतिलाई खबरदारी गर्नु र हुलहुज्जत गर्नु दुई कुरामा अन्तर हुन्छ ।

बजारमा बढी हल्ला मच्चाइएका विषयलाई मात्र ख्याल गर्ने र निरीहका संवेदनालाई, मसिना आवाजलाई बेवास्ता गर्ने सरकारको चरित्रका कारण पनि होहल्ला र तमासाको संस्कार बसिसकेको छ ।

फलतः सञ्चार माध्यम पनि पक्षपाती र पैसावादी बनेर अप्रत्यक्ष खुरापातीमा लाग्न थालेका हुन् कि भन्ने गन्ध आउन थालेका छन् । यसको अर्थ सरकार, सञ्चार र समाजको सोचमै धमिलो प्रवृत्ति बढेको हो । हरेक दलीय नेतृत्वमा सुविधाभोगी स्वार्थको अन्त्य हुनुपर्छ । जनताले पनि आफ्नो पार्टीको हुँदैमा नराम्रोको पनि सही थप्ने शैलीले चाहेको परिवर्तन सम्भव छैन ।

सांवेगिक आवेगबाट पनि व्यावहारिक परिवर्तन सम्भव हुन सक्दैन । विचार र वहस हुनुपर्छ तर कानुनभन्दा माथि कोही रहनुहुँदैन । कसैमा अन्याय गरिनु हुन्न पद, प्रतिष्ठा र पैसाका लागि । सुशासनका लागि सबै जनताले अवश्य खबरदारी गरौँ, सोचमा सुधार ल्याऊँ तर समर्थन र विरोधको अन्धोपनालाई पनि सुधार गरौँ ।

शाही, रवि, पूर्वराजा र सरकार: संस्कार कि सोच ?