महरा शाहीको डेरामा पुगेको पुष्टि, दवावले फेरियो बयान

यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाही (भिडियोमा आफैं पहिचान खुलाएकाले नाम उल्लेख गरिएको) ले मंगलबार साँझ आफ्नो बयान फेरे पनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो ।

स्रोतलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८:२५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् । प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् । शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन् ।
उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् । उनले बयान फेरेको विषयमा मंगलबार राति कान्तिपुरले उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के । आ–आफ्नो काम गर्नुस् ।’

शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुर्व्यवहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नरहेको उल्लेख गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार उनले निवेदनमा डिप्रेसनका बेला होसमा नभएर मिडियामा बोलेको जनाएकी छन् । शाहीले ४८ घण्टाभित्रै किन बयान फेरिन् भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीले चासो देखाएको छैन । यसबारे राज्यका अन्य निकायले पनि चासो लिएको देखिँदैन । बरु उनी असुरक्षित हुन सक्ने वा भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाडौंले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म महिला सम्पर्कबाहिर रहेको र त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए ।
घटना सार्वजनिक भएपछिको अवधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ ।
कान्तिपुरबाट