नग्न अवस्थामा सुस्तमनस्थिति भएकी युवतीको शव फेला
सांकेतिक तस्बिर ।

जनकपुरधाम । महोत्तरीमा एक युवतीको शव फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान २२ वर्षीया सुस्त मनस्थिति भएकी शर्मिला दनुवारको शव फेला परेको हो ।

गौशाला नगरपालिका-१० घर भएकी दनुवारको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको हुनसक्ने महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बलात्कार भए नभएको बारे भने मेडिकल रिपोर्ट नआएसम्म तत्काल केही भन्न सक्ने अवस्था नभएको उनको भनाइ छ । घटनाको बाँकी अनुसन्धान भइरहेको भन्दै एसपी अधिकारीले अहिले नै के भएको हो भन्न नसकिने बताए ।

शर्मिलाको शव नग्न अवस्थामा फेला परेको थियो । शवको हात, मुख र घाँटी बाधिएको अवस्थामा फेला पारेको थियो । हत्या अघि उनी माथि कुटपिट पनि भएको प्रहरीले जनाएको छ । योनीबाट रगत र मलमुत्रसमेत निस्केको अवस्थामा शव फेला परेको हो । घटनास्थल प्रकृतिको आधारमा उनलाई अन्तै यातना दिएर त्यहाँ ल्याई फालेको प्रहरी अनुमान छ ।

बाँधेको शरिरका भाग फुत्काउन छट्पटिँदा खुट्टानजिक जमिन उधिनिएको पाइएकोले प्रहरीले त्यस्तो अनुमान गरेको हो । राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसकने सुस्तमनस्थितीकी शर्मिलाको हत्याले सिंगो गाउँ त्रासमा छ ।

जन्मदै मनस्थिती सुस्त भएकाले जहाँ पायो त्यहाँ जान्थिन् । अरुले नै लुगा फेराउने र नुहाइ दिनुपर्थ्यो । घटनाको दिन बुधवार उनी बाख्रा चराएर साँझपख घर फर्केकी थिइन् । रातको खाना खाएपछि घरदेखि केही पर रहेको छिमेकीको घरमा नाचगान हेर्न गएकी थिइन् ।

‘राती अवेरसम्म नफर्केपछि रमाईलो हेर्दाहेर्दै छिमेकमै सुतेको हुनसक्ने परिवारजनले अनुमान गरेका छन् । ‘बिहान ९ बजेतिर उनको हत्या भएको खवरले पुरै परिवार शोकमा डुबेको छ । घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जनाएको छ ।