अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा तीन हप्तासम्म बन्द गर्ने उपत्यका फोरमको निर्णय

अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा तीन हप्तासम्म बन्द गर्ने उपत्यका फोरमको निर्णय


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावस्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भीडभाड कम गर्न अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिए । बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । साथै, कलकारखाना, उद्योग धन्दाहरु, निर्वाध रुपमा सञ्चालन हुँदा मजदुरहरुको दैनिक आवतजावत बढ्दा संक्रमणको जोखिम पनि बढेकोले उद्योग तथा कलकारखानाभित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । काठमाडाैं उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने नाकाहरुमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णय समेत फोरमले गरेको छ ।

क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि फोरमले गरेको छ ।
संक्रमण फैलन सक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भीडभाड हुने साँस्कृतिक गतिविधि जात्रा एवं पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि फोरमले गरेको छ ।

त्यस्तैगरी मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारवाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ । व्यापारिक क्षेत्र तथा सपिङ्ग महलहरु, होटल, रेष्टुरेष्ट आदी कोभिड—१९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र भएकाले उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारवाही गर्ने निर्णय समेत भएको छ ।

पीसीआर परीक्षणको आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षणको दायरा र दरलाई बढाउने मात्रै भन्दा पनि संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ । अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण कार्यका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकाहरु बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ बिहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साईकल मार्फत गरिने व्यापारलाई भदौं १५ गतेसम्मका लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Logo