राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल


नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । 

सोमवार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका उनले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोहीपनि नजोडिने बताए । 

नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेताहरुलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने दाबी गरे ।  

उनले भने, ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ । घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहीरह्यो भने राजनीतिसँग कोही जोडिँदैन । राजनीतिको ठूलो तहमा पुगेपनि समाजले सम्मान गर्ने स्थिति हुँदैन । स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । हामी बजेट ल्याउने कुरामा प्रदेश र संघका सांसदहरु लाग्नेछौँ । भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका कामहरु अघि बढाऔँ । ४ नम्बरमा सबै करिडोर बनेको छ, हाम्रो ५ मा करिडोर बनाउन किन रोकिएको ? मापदण्ड अनुसार बनाउँदै जाऔँ । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन किन रोकिएको ? करिडोर बनेको खण्डमा रिङरोडको ट्राफिक जाम पनि कम हुन्छ । विकास व्यवस्थित ढंगले अघि बढ्ने परिस्थिति बन्छ । तत्काल हामीले करिडोर अघि बढाउन के गर्नुपर्छ, त्यसका लागि हामीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । आवश्यक्ता अनुसार हामी काम गर्नेछौँ । विद्युत प्राधिकरणले तार भूमिगत गर्छु भनेर बाटो भत्काएर अलपत्र बनाएको छ, खोनेपानीले पानी ल्याउँदा बाटो नै भत्काएर अलपत्र बनाएको छ, धुलो उडेर जनताले सास्ती पाएका छन् । हामीले बिग्रिएका बाटोहरुको मर्मतका लागि लबिङ गर्न जरुरी छ ।’
 
नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको बताए । उनले आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी थालेको पनि बताए । उनले सरकार सञ्चालन गर्ने हरेक दलहरुले एक घर, एक धाराको नीति लिएपनि काठमाडौंमा नै एक घर, एक धाराको नीति लागू गर्न नसकेको बताए । 
 
नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नती गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लागिपर्ने बताए । विष्णुमती करिडोर सडक करिव १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ । 

Logo