करेन्ट लागेर दुई जनाको मृत्यु

झापा,
झापामा दुई फरक घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडी घर भएका ३२ वर्षीय काजी दास र दमक नगरपालिका–५ निवासी ४० वर्षीय चिन्टु माझी रहेका छन् ।

विर्तामोड नगरपालिका–१ मा रहेको स्टिल उद्योगमा कामदारका रूपमा कार्यरत दासलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

त्यस्तै करेन्ट लगाएर माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार गत मङ्गलवार राति घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए । लडेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिए पनि उनको उपचारका क्रममा बुधबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।