थली खण्डमा सडक कालोपत्र हुने

थली खण्डमा सडक कालोपत्र हुने


निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ ।  चावहिल–साँखु सडकअन्तर्गतका सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

सो सडकमा अरु खण्डमा सडक निर्माण भइसकेपछि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासी घर र पसलमा धुलो उडेर तथा बर्षामा सडक प्रयोगकर्ता बर्षामा खाल्डै खाल्डाका कारण हैरान भएका थिए । सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए ।

गतवर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उनले बताए । उनले भने, “सडकको केही चौडाइ बढेपछि अहिले झण्डै १४ मिटर चौडा हुने गरी चार लेनको सडक निर्माण गरिएको छ ।” 

चावहिल साँखु सडकमा अधिकांश सडक २२ मिटरभन्दा कम चौडाइमा कालोपत्र गरिएको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । जग्गा जति उपलब्ध भयो त्यसैका आधारमा कतै फराकिलो त कतै साँघुरोमै कालोपत्र गरिएको छ । झण्डै १२ किमी लम्बाइको सो सडकको चौडाइमा एकरुपता नभएको उनले बताए । उनले भने, “कतै २२ मिटर नै पुगेको पनि छ कतैकतै २०, कतै ११ मिटर चौडाइ छ ।” 

पूरै सडकमा अधिकांश ठाउँमा छेउमा ढल राखिएको प्रवक्ता जोशीले बताए । चौडाइ पाँचसात मिटर भएका ठाउँमा दुईतिर ढल हाल्न नसकिने हुँदा एकातर्फबाट मात्रै ढल हालिएको छ भने अधिकांश स्थानमा दुबैतर्फबाट ढल हालिएको छ । तिवारी टोलमा मात्रै एकातिरबाट मात्रै ढल छ भने थलीमा अहिलेका लागि एकातर्फबाट मात्रै ढल हालिएको उनले बताए । उनले भने, “पछि दुबैतिरबाट हालिने गरी योजना बनाइएको छ ।” 

जग्गा उपलब्ध नहुँदा लामो समयसम्म सम्पन्न हुन नसकेको सडक योजनाका रुपमा चावहिल–साँखु सडक रहेको छ । यहाँ पटक–पटक पहल गर्दा पनि जग्गा उपलब्ध भएको थिएन भने कतै प्राप्त जग्गामासमेत पछि स्थानीयवासीले काम गर्न नदिएको आयोजनाले जनाएको छ । 

सलम्बुटारमा सडक निर्माणका लागि तयारी गर्दा पूरै मापदण्डअनुसार चौडाइमा नै दुबैतर्फ ढल हालेर पर्खाल लगाइएको थियो । सर्वाेच्चले अदालतको आदेशपछि व्यक्तिगत जग्गा लिन नसकिएकाले कम चौडाइमा कालोपत्र गरिएको उहाँले बताए । उनले भने, “बीचमा पुरानो सडकमा मात्रै कालोपत्र गरिएको छ । पर्खाल लगाइएको र ढल बनाइएको सडक बाहिर परेको छ ।” 

यहाँ तीन खोलामा पुल निर्माण गरिने आयोजनाले जनाएको छ । पहिले दुई लेन रहेको सडकलाई चार लेन बनाउनका लागि हाल भइरहेको पुलभन्दा दायाँबायाँ बनाउन लागिएको हो । चावहिल–साँखु सडक कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो । आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो । आयोजनाले पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरेपनि सोअनुसार काम हुनसकेको छैन ।

सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम सुरु भएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पु-याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माणस्थल खाली गराएर काम अघि बढाएको छ । 

सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन् । 

पछिल्लो पटक नवनिर्वाचित सांसद सोबिता गौतमले पनि आयोजना र स्थानीयबासीसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेका छन् । १० सडक विस्तार सुरु भएकामा कतिपय सम्पन्न भएका छन् भने कति अन्तिम चरणमा छन् । काठमाडौँका कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर नगरपालिकासँगै सिन्धुपाल्चोकका विभिन्न पालिकाका नागरिक यही सडक हुँदै आवतजावत गर्दै आएका छन् ।

Skip This
Logo