मेस्सीको विश्वकप सपनाविरुद्ध क्रोएसियाको रक्षा पङ्क्ति

मेस्सीको विश्वकप सपनाविरुद्ध क्रोएसियाको रक्षा पङ्क्ति


फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेल आजदेखि सुरू हुँदैछन् ।

सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया कतारको लुसेल रंगशालामा राति १२ः४५ बजे भिड्दैछन् । यस्तै, दोस्रो खेलमा बिहीबार साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलले विश्व फुटबलका सुपरस्टार लियोनल मेसीको विश्वकप जित्ने इच्छाको निक्यौल गर्नेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि आज क्रोएसियाविरुद्धको जित महत्वपूर्ण हुनेछ । यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमाएको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।

सन् २०१८ मा पहिलो पटक विश्वकप फाइनल पुगेको क्रोएसिया आजको खेलमा जित निकाल्दै लगातार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । चार वर्षअघि पूरा हुन नपाएको सपना पूरा गर्नबाट उनीहरु यसपल्ट पनि दुई जितबाट मात्रै टाढा छन् । यस्तै अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । सन् १९७८ र १९९६ गरी दुई पटक विश्व विजेता बनिसकेको अर्जेन्टिना आजको खेल जित्दै तेस्रो उपाधि नजिक पुग्ने योजनामा छ । 

विश्वकपमा अर्जेन्टिना र क्रोएसिया तेस्रोपटक भिड्न लागेका हुन् । सन् १९९८ को विश्वकपमा यी दुई टोली पहिलोपटक भिडेका थिए । सो खेलमा यी दुईको भेट समूह चरणमा भएको थियो । जुन अर्जेन्टिनाले १–० गोलले जितेको थियो । यस्तै  पछ्ल्लिोपटक चार वर्षअघि रुसमा आयोजित विश्वकपमा पनि यी दुई टोली समूहगत चरणमै भिडेका थिए । समूह चरणको सो खेलमा भने क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गर्दै अघि बढेको थियो ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा भने यी दुई टोली छेटौँपटक भिड्न लागेका हुन् । विगतमा भएका प्रतिस्पर्धामा दुवै टोलीले दुई–दुई जित र एक बराबरीको नतिजा निकालेका थिए । सन् १९९४ मा भएको पहिलो प्रतिस्पर्धामा यी दुई टोलीबीच गोलरहित बराबरी भएको थियो । 

जारी प्रतियोगितामा क्रोएसियाको यात्रा रोमाञ्चले भरिएको छ । यस टिमले समूह चरणमा एक खेल मात्रै जित्यो भने दुईमा बराबरी खेलेको थियो । यसैगरी क्रोएसियाले राउन्ड अफ १६ मा जापानसँग निर्धारित समयमा एक–एक गोलको बराबरी खेल्दै पेनाल्टी शुटआउटमा जित आफ्नो नाममा बनाएको थियो । यसैगरी क्वाटरफाइनलको खेलमा पनि ब्राजिललाई निर्र्धारित समयमा बराबरीमा रोक्दै पेनाल्टी सुटआउट मार्फत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । 

हालसम्म खेलेका पाँच खेलमध्ये ४ खेलमा बराबरी नतिजा ल्याएको छ । क्रोएसियाले अट्याकिङ भन्दा पनि बढी डिफेन्समा मेहनत गरेको छ । क्रोएसियाले अर्जेन्टिनाकाविरुद्ध पनि सोही रणनीति अख्तियार गर्ने देखिन्छ । 

डिफेन्सका भरमा सेमिफाइनल खेलिरहेको क्रोएसियासँग खेल्न गइरहेको अर्जेन्टिनाको कमजोर पक्ष नै डिफेन्स रहेको छ । जारी प्रतियोगितामा अर्जेन्टिनाको यात्रा निकै उतारचढावले भरिपूर्ण छ । पहिलो खेल नै साउदी अरबसँग हारेको उसले बाँकी खेलमा शानदार कमब्याक गरेर अगाडि बढिरहेको छ । यस्तै अर्जेन्टिनाले राउन्ड अफ १६ मा अष्ट्रेलियालाई २–१ ले हराएको थियो । तर क्वार्टरफाइनलमा नेदरल्यान्डसँग २–० अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी शुटआउटसम्म पुगेको थियो तर अर्जेन्टाइन गोलकिपर मार्टिनेजको उत्कृष्ट बचाउका कारण टोली सेमिफाइनल प्रवेश गरेको हो ।   

क्रोएसियाविरुद्ध अर्जेन्टिना कप्तान लियोनल मेस्सीको नेतृत्वमा सुरुदेखि नै गोलका लागि प्रयास गर्नेछ, भने क्रोएसिया पनि आफ्नो बलियो पक्ष डिफेन्स सम्हाल्दै गोलका लागि अघि बढ्ने छ । 

आजको खेल दुई बालेन डी ओर’ विजेता बिचको खेलका रुपमा पनि हेरिएको छ । १० नंबरको जर्सी लगाउने अर्जेन्टिनाका कप्तान मेस्सी र क्रोएसियाका कप्तान मोड्रिच जारी प्रतियोगितामा उत्कृष्ट खेलाडीले प्राप्त गर्ने उपाधिका दाबेदार हुन् । यी दुई खेलाडीले आफ्नो जिवनमा सबै प्रकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय उपाधि जितिसकेका छन् । तर यी दुबै खेलाडीले विश्वकपको उपाधि भने अहिलेसम्म जित्न सकेका छैनन् । सोहि कारण यी दुबै खेलाडीले विश्वकपको उपाधि जित्दै अन्तराष्ट्रिय करिअरबाट बिदा लिन चाहन्छन् । तर खेलमा एक विजयी र अर्को पराजय हुने भएकाले दुईमध्ये एकको सपना आज समाप्त हुनेछ । कतार विश्वकपले फुटबल स्टार रोनाल्डो, नेयमार र लेवान्डोस्कीलाई बिदा गरिसकेको छ । आजको खेलपश्चात मेस्सी अथवा मोड्रिचमध्ये एकले कतार छोड्ने पक्का छ । तर कुन खेलाडी अघि बढ्छ र कुन खेलाडी घर फर्कन्छ भन्ने आज हुने खेलको नतिजासम्म कुर्नुपर्नेछ । 

प्लेयर टु वाच 
इमिलेनो मार्टिनेज (अर्जेन्टिना)
पोजिसन : गोलरक्षक 
उमेर : २९ वर्ष

नेदरल्यान्ड्विरुद्ध पेनाल्टी रोक्दै अर्जेन्टिनालाई सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने मुख्य खेलाडी हुन् इमिलेनो मार्टिनेज । मार्टिनेजले सो खेलमा टोलीका लागि दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै उत्कृष्ट प्रदर्शन गरे । कोपा अमेरिकामा अर्जेन्टिनाका लागि कोलम्बिायाविरुद्ध पनि उनले उत्कृष्ट पेनाल्टी बचाउ गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका थिए ।

आज अर्जेन्टिनाले क्रोएसियाविरुद्ध सेमिफाइनल खेल खेल्दै गर्दा मार्टिनेज अर्जेन्टिनाका लागि महत्वपूर्ण खेलाडी सावित हुने छन् ।

डोमिनिक लिभाकोविच (क्रोएसिया)
पोजिसनः गोलकिपर
उमेरः २७
 
जारी प्रतियोगितामा स्पेन र जापानविरुद्ध पेनाल्टीमै निर्णायक निर्णय आउँदा क्रोएसियाका लागि मुख्य भुमिका खेल्ने खेलाडी हुन् डोमिनिक लिभाकोविच । उनले उपाधिका लागि बलियो दावेदार मानिएको ब्राजिलका दुई पेनाल्टी बचाउँदै क्रोएसियालाई सेमिफाइनल पुर्याएका हुन् । आजको खेलमा क्रोएसिया अर्को चरणमा जानका लागि उनको भुमिका महत्वपूर्ण रहनेछ । 

 

Logo