दशैँमा इन्धनको अभाव हुँदैनः निगम

काठमाडौं,

नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौँ उपत्यका लगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पष्ट पारेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ । फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले शुक्रबार उपत्यकामा झण्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट ११ लाख ५० हजार लिटर पेट्रोल र आठ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । फूलपातीका दिन निगमका सबै डिपो नियमितझैं खुला रहनेछन् ।

निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ, आयात नियमित रहेको छ, उहाँले भन्नुभयो, पेट्रोलपम्पले मागे जति नै इन्धन उपलब्ध गराएका छौँ, इन्धनको कुनै अभाव हुँदैन । दशैँलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक आठ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ । निगमले पर्याप्त मात्रामा इन्धन भण्डारण गर्न सबै पेट्रोल पम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोल पम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारीसाधनका कारण इन्धन भर्नेको केही चाप देखिए पनि कुनै पनि पेट्रोल पम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

सरकारी बिदामा पनि डिपो खुल्ने

दशैँको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भए पनि डिपो आंशिक खुला राख्ने भएको छ । कुनै पनि पेट्रोल पम्पबाट इन्धनको माग आए तत्कालै लोड गर्ने गरी कर्मचारीको व्यवस्था गरिएको छ ।

थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । उनीहरुले जुनसुकै बेला पेट्रोल पम्पबाट इन्धनको माग आएमा लोड गर्ने प्रमुख उपाध्यायले जानकारी दिनुभयो । निगमको थानकोटस्थित डिपोले काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी ५ नं प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । प्रादेशिक कार्यालयबाट बिक्री वितरण गरिने पेट्रोलियम पदार्थ सहजरुपमा उपलब्ध गराउन १० जना कर्मचारीलाई तयारी अवस्थामा खटाइएको निगमले जनाएको छ ।

यसैगरी १ नं प्रादेशिक कार्यालय विराटनगरले पनि दशैँका बेला इन्धनको अभाव नहोस् भनेर पाँच जना कर्मचारीलाई डियूटी मा खटाएको छ । उनीहरुले निगमको आपूर्ति तथा वितरण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा इन्धन लोड गर्ने प्रादेशिक प्रमुख इञ्जिनीयर अशोक साहले जानकारी दिनुभयो । सो डिपोमा ९० प्रतिशत इन्धन मौज्दात रहेको छ । बिक्रेताले माग गरे बमोजिम इन्धन उपलब्ध गराइएको उहाँले बताउनुभयो ।