विद्युतीय चुल्होलाई प्रवर्द्धन गर्न जरुरी

विद्युतीय चुल्होलाई प्रवर्द्धन गर्न जरुरी


नेपालीको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् ।

एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने उर्जा’ विषयक अन्तर्क्रियामा सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ ।’

सरकारी तथ्याङ्क अनुसार सन् २००९मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन् । सन् २००९मा वैकल्पिक उर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए । 

विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ । ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरुको तर्क छ । जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत उर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ । 

आधुनिक चुलोको प्रयोगले समयको वचत र मानव स्वास्थ्य सुधार हुने उर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन् । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाईलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोग कर्ता धेरै बढाउन सकिने उनको ठहर छ ।  

सकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा पुयाउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत धरघुरीले विद्युतीय माध्यमबाट खाना पकाउन अपनाउने लगायतका विभिन्न लक्ष्य लिएको छ । 

Logo