चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारी तीब्र, फलदायी बनाउनुपर्नेमा नेपालको जोड

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आशन्न नेपाल भ्रमणको तयारी तीब्र पारिएको छ । यसै महिनाको अन्त्यमा हुन गइरहेको राष्ट्रपति सीको भ्रमणको लागि नेपालले तयारी तीब्र पारेको हो ।

गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायले सी भ्रमणको तयारी तीब्र बनाएका हुन् । नेपालीको महानपर्वको समय सुरु भए पनि सरकारी अधिकारीहरुलाई दशैं अनुभव गरिएको छैन् । उनीहरु भ्रमणलाई कसरी सम्पन्न पार्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ ।

यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ । चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको उनको भनाइ छ । राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको उनको भनाइ छ ।

उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे भने थप छलफल चलिरहेको उनले जानकारी दिए । द्विपक्षीय सम्बन्धलाई मर्यादित, प्रभावकारी र नेपालका लागि फलदायी बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै तयारी थालेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मन्त्रालयका सम्बन्धित महाशाखा र पदाधिकारीलाई भ्रमण सफल बनाउन चनाखो रहेर काम गर्न निर्देशन दिएका छन् । राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिएका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकारी अधिकारीहरुलाई सी को भ्रमणमा कुने कसर बाँकी नराख्न निर्देशन दिएका छन् । सरकारी अधिकारीसँगको अनौपचारिक भेटको क्रममा प्रधानमन्त्रीले यस्तो निर्देशन दिादै आएका हुन् । सी भ्रमणलाई लिएर काठमाडौंका सडक मर्मत सम्भार गर्ने काम पनि तीव्र पारिएको छ । काठमाडौं उपत्यकाका सडक पिच गर्नुका साथै रंग रोगन गर्ने काम पनि भइरहेको छ ।