लियोनल मेस्सी भन्छन्, यो नै मेरो अन्तिम विश्वकप

लियोनल मेस्सी भन्छन्, यो नै मेरो अन्तिम विश्वकप


अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै आफ्नो अन्तिम विश्वकप भएको बताएका छन् । 

जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका हुन् । टीमलाई फाइनलमा पुर्‍याएका मेस्सीका नाममा ​दर्जनौं कीर्तिमान बनेका छन् । उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी बनेका छन् ।  

सन् २००६ को विश्वकपमा कम उमेरमा गोल गरेका मेस्सीले जारी विश्वकपमा बढी उमेरमा गोल गरेर कीर्तिमान बनाएका हुन् । यस्तै मेस्सी पाँच विश्वकपमा गोलका लागि असिस्ट गर्ने एकमात्र खेलाडी बनेका छन् । उनी विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन् । मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियाविरुद्ध जुलियान अल्भारेजका लागि असिस्ट गर्दै डीएगो म्याराडोनाको ८ असिस्टको विश्वकप कीर्तिमान बराबरी गरेका हुन् । 

मेस्सीले जारी विश्वकपमा मात्र तीन असिस्ट गरेका छन् । मेस्सी विश्वकप फुटबलमा सर्वाधिक प्लेयर अफ दी म्याच अवार्ड जित्ने फुटबलर पनि हुन् । उनी १० पटक प्लेयर अफ दी म्याच भएका छन् । यसअघि सन् २०१४  फाइनलसम्म पुग्दा मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच भएका थिए ।

उनले विश्वकपमा सर्वाधिक खेल कप्तानी गर्ने कीर्तिमान बनाएका छन् भने सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।
उनले १९ खेलमा कप्तानी गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । यस्तै विश्वकपमा २५ खेल खेल्दै लोथर मेथाउसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

Logo