समीक्षा : बहुमुखी व्यक्तित्वका बारेमा उपयोगी अध्ययन
  • रमेशप्रसाद तिमल्सिना –

अथक साहित्य साधक मोहनबहादुर कायस्थ भर्खरै प्रकाशनमा आएको अनुसन्धानात्मक कृतिको नाम हो । साहित्यकार यादवराज घलेको प्रस्तुत कृति औपचारिक रूपमा स्नातकोत्तर शैक्षिक उपाधिका लागि गरिएको शोधप्रबन्ध हो । त्यसै अनुसन्धानलाई पुस्तकाकारमा सार्वजनिक गरिएको हो ।

पुस्तक साहित्यकार मोहनबहादुर कायस्थको जीवनी, व्यक्तित्व र कृतित्वका साथै समग्र साहित्यिक योगदानको व्यवस्थित अभिलेखीकरण गर्न सक्षम छ । यो उनका साहित्यिक योगदानका अनेक पाटाहरूको लेखाजोखा गर्ने र थप अध्ययन गर्ने सिँढीको पहिलो पाइला पनि भएकाले नेपाली साहित्यको इतिहासमा महत्वपूर्ण रहेको छ । अनवरत रूपमा साधना गरी नेपाली साहित्यको भण्डारमा साढे पाँच दर्जन बढी कृति सुम्पन सफल सर्जक मोहनबहादुर कायस्थ (वि.सं.२००१) को समष्टिगत अध्ययनका दृष्टिले अध्येता यादवराज घलेको कार्य प्रशंसनीय छ ।

अध्येता यादवराज घले (वि.सं.२०२४) आफैँ पनि नेपाली साहित्यको काव्य र आख्यान विधामा वाई.आर. घलेका नामबाट परिचित व्यक्तित्व हुन् । प्रशासनिक सेवा, प्राध्यापन र अध्यात्मसँगसँगै साहित्यिक गतिविधिमा सक्रिय घलेको यो पहिलो पुस्तकाकार कृति हो । आख्यानका दुई र काव्यका तीन कृतिका सर्जक घले स्रष्टा तथा द्रष्टा व्यक्तित्वको परिचयलाई समानान्तर किसिमले डोर्याउँदै अघि बढिरहेका छन् । अनुसन्धेय तथा अनुसन्धाता दुवै नेपाली साहित्यिक फाँटका सहयात्री तथा साधक रहेका हुनाले पनि यो पुस्तक मोहनबहादुरको साहित्यिक मूल्य निर्धारणमा उपलब्धिमूलक रहेको छ ।

इन्जिनियर मोहनबहादुर कायस्थ तीन दशकभन्दा लामो पेसागत सेवाबाट निवृत्त रहेर पनि साहित्यिक गतिविधिमा सक्रिय छन् । तीन दशक अघिदेखि सिर्जनायात्रा गरिरहेका साहित्यकार मोहनबहादुर कायस्थले काव्य र आख्यानका हरेक उपविधामा कलम चलाएर ६७ वटा कृति पाठक समक्ष पेश गरिसकेका छन् । ७५ वर्षे वयमा पनि उनको सिर्जनशील ऊर्जा नेपाली साहित्यले पाई नै रहेको छ । उनको सिर्जनशील जाँगर अझै पनि तन्नेरी छ ।

‘अथक साहित्य साधक मोहनबहादुर कायस्थ’ कायस्थका विषयमा जम्मा चार अध्यायमा बाँडेर गरिएको समग्र अध्ययन हो । कृतिको पहिलो अध्यायमा साहित्यकार कायस्थको परिचयसम्बद्ध विविध पाटाहरू समेटिएका छन् । यो जीवनी र व्यक्तित्वको परिचायक खण्ड हो । दोस्रो अध्यायमा साहित्यिक यात्रा र चरण विभाजन राखिएको छ । साथै यस खण्डमा कृतित्वको कालक्रमिक सूची तथा अप्रकाशित पुस्तक एवम् फुटकर रचनाहरूको विवरण देखाइएको छ । कृतिको तेस्रो अध्यायलाई ‘मोहनबहादुर कायस्थको साहित्यिक कृतिहरूको अध्ययन’ उपशीर्षक राखिएको छ । यसभित्र उनीद्वारा सिर्जित सबै कृतिहरूको अध्ययन समेटिनुपर्नेमा त्यसो हुन भने सकेको देखिँदैन ।
यो खण्डले वि.सं.२०६२ पछिका सिर्जना तथा कृति समेटेको छैन । शोध अध्ययनपछि वि.सं.२०७६ सम्मको योगदान कृति प्रकाशनको चटारोमा परेर बाहिरिएका देखिन्छन् । चौथो तथा अन्तिम अध्याय उपसंहारका रूपमा राखिएको छ । हुन त यिनै चारवटा अध्यायभित्र शोधोत्तर कृतित्वसमेत समेटेर राख्न सकिन्थ्यो । त्यसो नगरीकन साहित्यिक तथा गैरसाहित्यिक रचनाहरू ‘अवशिष्ट’ शीर्षकमा देखाइएको छ । यसमा शोधपछि थपिएका उनका फुटकर लेख (केही दोहोरो परेका) तथा कृतिहरूको सङ्क्षिप्त अध्ययन राखिएको छ । त्यस्तै, सन्दर्भस्रोत पनि २०६१ मा प्रकाशित पुस्तकसम्म मात्र सीमित गरिएको छ ।

यसबाट स्वाभाविक रूपमा पुस्तक प्रकाशनमा केही हतार गरिएको भान हुन्छ । यस्ता सीमित प्राविधिक असावधानीलाई छाडिदिने हो भने कृतिमा थुप्रै सबल पक्षहरू छन् । औपचारिक अध्ययन भएकाले भाषिक प्रयोमा पनि शिष्ट, प्रस्ट र औपचारिक तथा मानक भाषा प्रयोग भएको छ ।

शोध्य व्यक्तिका प्रकाशित पुस्तकहरूको सङ्ख्या शोधकार्यताका १६ वटा रहेका र प्रस्तुत कृति आउँदासम्म ४१ वटा थपिएका (पृ.१२४) भनिएको छ । यसमा पनि तथ्याङ्क फरक देखिएको छ ।

साहित्य साधक मोहनबहादुर कायस्थका विषयमा अन्वेषक कुलप्रसाद पराजुलीले उल्लेख गरेका छन्, ‘मोहनबहादुर कायस्थ आफू साहित्यकार हुन् ।….साहित्यप्रेमी र सर्जकहरूलाई प्रोत्साहित गर्छन् ।…कर्ममार्गी साधक भएकै कारणले यतिविधि साहित्यिक र साहित्येतर कृति तथा रचना सुम्पिएर नेपाली साहित्यको भण्डार सिंगार्न सफल भएका छन् ।’ (प्रकाशगृहका स्रष्टा)

मोहनबहादुर कायस्थले लेखनको प्रारम्भमा अङ्ग्रेजी भाषाका लेख, प्रतिवेदन तथा फुटकर साहित्य सिर्जनाका माध्यमबाट यात्रा थालनी गरेका हुन् । वर्तमानमा उनी साहित्यका अधिकांश उपविधामा गतिशील छन् । नेपाली साहित्यका अनेक विधामा कलम चलाएका मोहनबहादुर मनमौजी स्रष्टा हुन् । उनका बारेमा अध्येता घलेले लेखेका छन्, ‘प्राविधिक ज्ञान भएका व्यक्ति साहित्यमा फूलबुट्टा भर्न जान्दैनन्, काँटछाँट गर्न जान्दैनन्, रुचाउँदैनन् ….।’

त्यसैगरी, ‘भाषिक त्रुटि (पृ.४३, ७७), पदयोग वियोग तथा वर्णविन्यासगत कमीकमजोरी (पृ.५७), मुद्रण अशुद्धि र ठाउँठाउँमा भाषा बिग्रेको भए पनि अन्य आख्यानकारको भन्दा छुट्टै प्रवृत्ति पाइन्छ’ (पृ.८२) भनिएको छ ।

‘पेसाले इन्जिनियर भएकाले उनका भाषागत त्रुटिलाई क्षम्य ठान्न सकिन्छ ।’ (पृ.९३) भनेर लेखकको भनाइ आएको छ । आलङ्कारिक भाषाको प्रयोग गर्न नसक्नु, व्याकरण र वर्णविन्यासमा सचेतता नअपनाउनु लगायतका सीमाहरू रहेका बारे अध्येताले धेरै ठाउँमा स्पस्ट धारणा राखेका छन् । यी कुराहरू औपचारिक अध्ययन भएकैले प्रस्टसँग आएका हुन् । यो यथार्थ एवम् सत्य एकातिर छ भने, ‘म जे लेख्छु, आत्मले देखेको लेख्छु । सम्पादन गराउन चाहन्न ।’ भन्ने स्वयम् स्रष्टाको स्वीकारोक्ति छ । मानक भाषाको प्रयोग गरेर पनि जनजिब्रोको भाषालाई साहित्यिक कलेवर प्रदान गर्न नसकिने त होइन नि !

हो, प्रारम्भिक चरणमा हरेक स्रष्टामा यस्तै प्रवृत्तिले अघि बढ्ने अभिलक्षण हुन्छ । बामे सर्न रमाउने बालक पनि मलाई त्यसैगरी घस्रन मन पर्छ भनेर नउभिइकन रहँदैन । ऊ क्रमशः उभिन र शिष्ट भएर हिँड्न थाल्छ । साथै दिनप्रतिदिन परिपक्व बन्दै जान्छ । त्यसरी नै सर्जकमा अध्ययन, कालचेतना, परिवेश आदिद्वारा परिष्कृत हुने चेष्टा स्वभावतः आउँछ र आउनुपर्छ । समय व्यतीत हुँदै जाँदा चैतनिक विकास लेखक स्रष्टामा हुन्छ र सिर्जनात्मक प्रौढता विकसित हुँदै जान्छ । यस विकासवादी सिद्धान्तलाई नकार्न सकिँदैन ।

विद्युत्कर्मी साहित्यिक समाजको प्रकाशन रहेको यो कृति स्रष्टाका लागि मात्र नभई द्रष्टाका लागि समेत  मार्ग निर्देशक हुनेमा विश्वस्त हुन सकिन्छ । साथै अध्ययन र अनुसन्धानका लागि उपयोगी रहने यो पुस्तक पठनीय तथा सङ्ग्रहणीय रहेको छ ।