इराकमा सरकारविरोधी प्रदर्शन, ६० जनाको मृत्यु २०० बढी घाइते

इराकको राजधानी बगदादमा ४ दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेको संख्या शुक्रबार दोब्बरले बढेको  छ । सेनाका अनुसार अज्ञात बन्दुकधारीले बगदादमा चार जनालाई गोली हानेर मारेको र मारिनेमा दुई जना प्रहरी अधिकारी पनि छन् ।

इराकमा बढ्दो बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचारबाट आक्रोशित बनेका युवा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले प्रधानमन्त्रीले झुटो वाचा गरेको आरोप लगाएका छन्  ।

यसैबीच प्रधानमन्त्री अदेल अब्देल महदीले शान्तिको अपिल गरेका छन् । उनले गरिब परिवारलाई सहयोग गर्न हरसम्भव कोसिस गरिरहेको जनाएका छन् । कुनै पनि समस्याको समाधान जादूको छडीजस्तो नहुने भन्दै उनले जनतालाई संयमित हुन र शान्ति कायम राख्न अपिल गरेका छन् ।

प्रधानमन्त्रीले संयमित हुन भने पनि इराकमा विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शन झन् चर्किंदै र हिंसात्मक हुँदै गएपछि राजधानी बगदादसहित धेरै स्थानमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

शुक्रबार बगदादको तहरीर चोकसम्म पुग्ने कोसिस गरिरहेका प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए ।

यसैबीच इराकका एक वरिष्ठ शिया नेता अयातोल्लाह अली अल सिस्तानीले विरोध प्रदर्शनप्रति दुःख व्यक्त गरेका छन् । उनका प्रवक्ता अहमद अल सेफीले भनेका छन्- ‘सरकार जनताका आशा अपेक्षा पूरा गर्न असफल भएको छ । प्रशासनले परिवर्तन अति आवश्यक छ भन्ने बुझ्नुपर्छ । जनताले परिवर्तन चाहन्छ भने सरकारले त्यसलाई सुन्नुपर्छ ।’

संयुक्त राष्ट्र संघ तथा संयुक्त राज्य अमेरिकाले पनि इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले स्थितिलाई नियन्त्रणमा लिन इराकी सरकारसँग अपील गरेका छन् ।

यसका साथै मानवाधिकार समूह एमनेस्टी इन्टरनेशनलले पनि प्रदर्शनकारीहरूसँग शान्तिपूर्ण व्यवहार गर्न अनुरोध गरेका छन् ।

स्रोत : बीबीसी