#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18805392706445612155311977394
नेपाल2139060617415156

महराविरुद्ध बलात्कारको उजुरी दर्ता, आइतबारसम्म पक्राउ गर्ने प्रहरीको तयारी

file photo

काठमाडौं । बलात्कार आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध उजुरी दर्ता भएको छ । पीडित भनिएकी महिला रोशनी शाहीले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।

उनले शुक्रबार उजुरी दिएकी हुन् । असोज १२ गते राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी रोशनीले भोलिपल्ट आफ्नो बोली फेरेकी थिइन् । सुरुमा महरा राति आफ्नो कोठामा आएर जवरजस्ती मदिरा खुवाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

त्यसको केही समयपछि उनले महरा आफ्नो कोठामै नआएको र उनी आफ्नो बाबु समान भएको प्रतिक्रिया दिएकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानबाट पनि महरा शाहीको कोठामा पुगेको देखिएको थियो । घटना भएको छैटौं दिन उजुरी परेको हो । दबाबमा परेर बयान फेर्दै आएकी रोशनीले अन्ततः महराविरुद्ध बलात्कारको उजुरी दिएकी हुन् ।

यसअघि रोशनी र उनका श्रीमानले अगल बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेका थिए । तर बलात्कारको उजुरी भने रोशनी र उनका श्रीमान दुवै जना आएर दिएको प्रहरी स्रोतले जनाएको छ । रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।

बलात्कार आरोप लागेपछि महराले असोज १३ गते संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले सुरुमा रोशनीको कोठामा गएको स्वीकार गरेका थिए । तर महराको सचिवालयले जारी गरेको अर्को विज्ञप्तीमा आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

घटना भएको राति नै पीडित महिलाले प्रहरीमा खबर गरेकी थिइन् । खबरलगत्तै महानगरीय प्रहरी वृत्तका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा महरा भने त्यहाँबाट गइसकेका थिए । प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्मा, जुत्ताको तलुवा बरामद गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले घटनाको सत्यतथ्य छानविन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । आईजीपीसहितको बैठक बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।

सोही बैठकमा गृहमन्त्री थापाले महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए । बैठकमा गृहमन्त्रीले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । कसैसँग नडराइ निष्पक्ष अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन थियो । बलात्कारको उजुरी दर्ता भएसँगै प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ । आइतबार अदालतबाट पक्राउ पुर्जी लिएर महरालाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार