कर्मचारी युनियन संसद सेवाका बारेमा सधैँ नकारात्मक नबन्नुस्ः महासचिव गौतम

कर्मचारी युनियन संसद सेवाका बारेमा सधैँ नकारात्मक नबन्नुस्ः महासचिव गौतम


संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले नेपाल निजामति कर्मचारी युनियनले संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरुको मात्रै उठान गर्नु नहुने बताएका छन् । 

बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव गौतमले संसद सेवाका बारेमा सकारात्मक कुराहरु बिर्सिएर नराम्रा कुराहरुमात्रै उठाउनु नहुने बताएका हुन् । उनले कर्मचारीहरुले धेरै कुराहरु सुधार गरेर जान आवश्यक रहेको भन्दै युनियनले अध्ययन गरेर सेवा सुविधाका बारेमा छलफल बढाउनुपर्ने बताए । 

महासचिव गौतमले संसदले गरेका राम्रा कामहरुको बारेमा अध्ययन समिति बनाएर हेर्न युनियनलाई आग्रह गरे । उनले युनियनले राम्रा कामहरु बिर्सिएर नराम्रा कुराहरु मात्रै लिएर आउन नमिल्ने बताए । 

‘आजको व्यवस्थापनको जिम्मा मुल समारोह समितिलाई भन्न चाहन्छु, के चाहिएको हो भन्नुपर्दैन ? एउटा कुरा नभएर यस्तो हुन्छ ? बढुवाका अपच्र्युनिटीहरु छन्, बढुवाको संख्या पुगेको छैन । तपाई र हामीले खोजेको के हो ? निजामतीमा जाऔं ठिक छ, खोल्ने भए खोलौँ न त । के भयो र ? क्लोजको त हामीलाई पनि पीडा थियो नि । हामीले कयौँ कुराहरु सुधार गरेर जानुपर्छ । म भन्छु, युनियनले एउटा अध्ययन गर्ने भए गरोस्, मैले बेलैमा भनेको छु तर त्यो अध्ययनवेश होस् । इमोशनलमा होइन । सक्ने कुरा सकेका छौँ, नसक्ने कुरा सकिन्छ भन्न सकिँदैन । आजको दिवस भनेको विशुद्ध संसद सेवाका कर्मचारीहरुको दिवस हो ।’ उनले भने, ‘मलाई यसपालि सबैभन्दा राम्रो कार्यक्रम हुन्छ भन्ने लागेको थियो । युनियनलाई म आग्रह गर्दछु । विगतका पुरस्कारको पनि लिस्ट हेर्नुहोला, विश्लेषण गर्नुहोला । संसद सेवाका बारेमा हामी जहिल्यै नराम्रा पक्षमात्रै उठाउने ? हामीसँग सकारात्मक पक्षहरु छैनन् ? तपाईहरु एउटा अध्ययन समिति बनाउनुहोस् । के राम्रा काम भएका छन् हेर्नुहोस् । जहिल्यै नेगेटिभ कुरा लिएर मात्रै आउने होइन । युनियनको अर्थ त्यो हो जस्तो लाग्दैन । संसद सचिवालयले युनियनलाई जहिले पनि परिवारको रुपमा हेरेको छ । क्रिटिकल मास हो । रचनात्मक कुरा हुनुपर्छ, नेगेटिभ कुरा मात्रै गरेर होइन ।’
 
महासचिव गौतमले कर्मचारीहरुले आफूले गरेका कमजोरीहरुको सुधार गरी आगामी दिनमा सेवाप्रवाहमा थप जोडबल दिन आग्रह गरे । 

संसद सेवा दिवसको अवसरमा सचिवालयले ५० हजार पुरस्कार राशीको संघीय संसद पुरस्कार कार्यालय सहयोगी चन्द्रबहादुर नगरकोटी, संसद सेवा पुरस्कार ५० हजार राशीको खरिदार चन्द्रप्रसाद ढुंगाना, उत्कृष्ट संसद सेवा पुरस्कार ७५ हजार पुरस्कार राशीको शाखा अधिकृत, बाबुराम बस्याल र १ लाख पुरस्कारको संसद सेवा पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरेको छ ।  

Logo