रहस्यमय बन्दै महरा-रोशनी यौन काण्ड

  • वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की –

प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महराको यौनकाण्ड दिनप्रतिदिन थप रहस्यमय बन्दै छ । गत असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूलाई सभामुख महराले जवरजस्ती शारीरिक सम्वन्ध राखेको आरोप लगाउँदै मिडियालाई दिएको अन्तर्वार्ता सार्वजनिक भएपछि यो काण्डले उग्र रूप लिएको थियो । चर्को जनविरोध र दवावमा सत्तासीन नेकपाले महरालाई पदत्यागको लागि दिएको दवावमा उनले पदबाट राजीनामा दिए । राजीनामापछि अब को सभामुख बन्ने हो र यो काण्डमा महरा उपर कसरी अनुसन्धान र कार्यवाही हुने हो भन्ने प्रश्न उठेको छ । यसैबीच पीडित रोशनी शाहीले आफूमाथि महराले कुनै किसिमको यौन दुर्व्यवहार नगरेको भन्दै आफ्नै पूर्व भनाइलाई खण्डन गरेपछि यो काण्ड रहस्यमय बन्यो । अहिले फेरि रोशनीले बानेश्वर प्रहरी वृत्तमा महराविरुद्ध उजुरी गरेपछि घटना थप रहस्यमय बनेको छ ।

रोशनी शाहीले रातको समयमा महरा आफ्नो कोठामा रक्सी र खाने कुरा लिई आएको सँगै रक्सी सेवन गरेपछि मातिएको अवस्थामा उनीद्वारा आफू बलात्कृत भएको भन्ने आरोप लगाउँदै हाम्रो कुरा डटकमलाई अन्तवार्ता दिएकी थिइन् । घटना भएलगत्तै उनले प्रहरीलाई खबर गरेकी र प्रहरीद्वारा मुचुल्का उठाइएको थियो । सार्वजनिक भएका घटनाहरूबाट महराले महिलालाई बलात्कार गरेको आम जनधारणा बनेको थियो । तर महिलाले आफू डिप्रेसनको रोगी भई औषधी लिइरहेको र आफ्नो सरुवाका विषयमा महराले कुनै पहल नगरिदिएकाले रिसको झोकमा बलात्कारको आरोप लगाएको भन्ने अभिव्यक्ति दिएपछि यो काण्डले नयाँ मोड लियो । अनि फेरि प्रहरीमा उजुरी दिएपछि वास्तविकता के हो त भन्ने अन्योल र आशंका उत्पन्न भएको छ ।

रोशनी शाहीले घटना भएको दिन महरा आफ्नो कोठामा नआएको भनी पूर्व अन्तर्वार्तालाई खण्डन गरे पनि सिसिटिभीका फुटेजवाट उनको भनाइ झुठा र महरा महिलाको कोठामा गएको पुष्टि भएको छ । त्यस दिन महराले रोशनी शाहीसँग शारीरिक सम्बन्ध राखे राखेनन् वा राखेको भए मन्जुरीसाथ राखे कि जबरजस्ती राखेका हुन्जस्ता प्रश्नका उत्तर अनुसन्धानबाट मात्र पाउन सकिन्छ । अनुचित दवाव र प्रभावमा पीडित महिलालाई आफ्नो भनाइ परिवर्तन गर्न लगाइएको भन्ने धेरैको अनुमान छ । र, रोशनीले प्रहरीमा उजुरी हालेपछि अनुमानमा बल पुगेको छ । बदलिदो र अविश्वसनीय उनको अभिव्यक्तिबाट पनि यो अनुमान तथ्यगत देखिन्छ । विकसित घटना क्रमहरूबाट महरा र महिलाबीचको यौन सम्बन्ध जवरजस्ती हो कि स्वेच्छापूर्वक हो भन्ने प्रश्न नै गौण वनेको छ भने राजनीतिक नैतिकताको प्रश्न प्रमुख बनेको छ ।

सभामुखजस्तो सम्मानित र आदरणीय पदमा रहेका महराले विवाहेतर सम्बन्ध राख्नु नै राजनीतिक रूपले अनुचित र अनैतिक कुरा हो । राजनीतिक नैतिकताको कसीमा महरा नराम्ररी चुकेका छन् र उनको राजनीतिक जीवन दुर्घटनाग्रस्त भएको छ । राजनीतिक शिखरमा पुगिसकेका महरा यो घटनावाट सतहमा आइपुगेका छन् । राजनीतिको पुरानो उचाइमा पुःन पुग्न महराको लागि फलामको चिउरा चपाएसरह हुनेछ । तत्काल नै महरा आफ्नो राजनीतिक जीवनको कमाइ बचाउनसक्ने अवस्थामा पनि छैनन् । अब जवरजस्ती शारीरिक सम्वन्ध राखेको भन्ने अभियोग र मुद्दाबाट उनी बच्ने हो होइन ? भन्ने प्रश्न मात्र वाँकी रहेको छ ।

रोशनी शाहीले आफू महराबाट बलात्कृत नभएको भन्दै जाहेरी दरखास्त दिन मात्र होइन आफ्नो शारीरिक जाँच गराउन पनि इन्कार गरेकी थिइन्, उनले जाहेरी दरखास्त नदिएको र शारीरिक जाँच गराउन तयार नभएको अवस्थामा महरा अभियोगवाट बच्ने पर्याप्त पूर्वाधार बन्दछ । त्यतैतर्फ महराले कसरत गर्दै गरेको घटनाक्रमहरू देखिन थालेका छन् । तर अब शाहीले जाहेरी दिइसकेपछि स्थिति फेरिएको छ । उनले खुट्टा नकमाईकन लडेको खण्डमा महरा जोगिने सम्भावना न्यून छ । मुद्दाबाट महरा जसोतसो जोगिए पनि राजनीतिक नैतिकताको अभियोगबाट उनी बच्ने सम्भावना छैन ।

महराको यौन प्यासको कमजोरीमा खेलेर उनीको राजनीतिक जीवन समाप्त गरिएको चर्चाले राजनीतिक वजारलाई अप्रत्याशित रूपमा तताएको छ । यो चर्चाका विषयमा अध्ययन, अनुसन्धान गर्नुपर्ने अवस्था खडा भएको छ ।

सत्तासीन नेकपाको आन्तरिक जीवनमा महरा विशेष स्थान ग्रहण गरेका व्यक्ति हुन् । यो पार्टीमा के.पी.ओली, प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनाल आदि पहिलो पंक्तिका नेताहरूपछि प्रधानमन्त्री हुने सम्भावित दोस्रो पंक्तिमा महराको नाम पनि आउँछ । नेकपाभित्र उनका प्रतिस्पर्धी रहेको कसैवाट छिपेको छैन । प्रतिस्पर्धीलाई पछारेर अघि बढ्ने अस्वस्थ प्रवृत्ति नेपाली राजनीतिमा व्याप्त छ । त्यस्तै गरी बाह्य तत्वको चलखेल यो पार्टीमा पनि उल्लेखनीय रूपमा रहँदै आएको छ । बाह्य शक्तिले आफ्नो अनुकूलका पार्टी नेता तथा कार्यकर्तालाई माथि उठाउने र प्रतिकूल भएकालाई लडाउने कसरत गर्दै आएको सर्वविदित नै छ । यस स्थितिमा अन्तरपार्टी द्वन्द्व, प्रतिस्पर्धा र बाह्य तत्वको खेल आदिको डिजाइनमा महरालाई फसाइएको भन्ने चर्चालाई पनि पूर्णतः इन्कार गरिहाल्न सकिदैन । नेपाली भूमि शक्तिराष्ट्रहरूको चलखेल र द्वन्द्वको थलो बन्दै गएको अवस्थाले पनि यही चर्चालाई बल पुर्‍याउँछ ।

यही काण्डको सिलसिलामा प्रधानमन्त्री ओलीलाई पूर्व सभामुख महराले सहयोग नगरेको भन्ने पनि चर्चा शुरु भएको छ । ‘अमेरिकी मिलेनियम च्यालेज करपोरेशन’ को प्रस्तावलाई संसदवाट अनुमोदन गराउनमा महराले अवरोध खडा गरेकाले उनीप्रति ओली मात्र होइन अमेरिकीहरू पनि रुष्ट रहेको भन्ने दावी जानकारहरूको छ । यस सन्दर्भमा ‘मिलेनियम च्यालेज करपोरेशन’को प्रस्तावलाई संसदवाट अनुमोदन गराउन ओलीले अमेरिकीहरूलाई दिएको वचन पूरा गर्न महरा अवरोेधक बनेका थिए भन्ने चर्चा पनि भइरहेको छ । देशी विदेशी तत्वहरूले महरालाई यौन काण्डमा फसाई राजीनामा दिन बाध्य बनाउने र अमेरिकी अनुकूलको सभामुख बनाउने डिजाइनको परिणामस्वरूप नै यो काण्ड घटाइएको हो भन्नेहरू पनि कम छैनन् । नयाँ सभामुख आफूअनुकूल बनाउन पश्चिमाहरूले गरिरहेको कसरतले यो अनुमानलाई बल पु¥याएको छ ।

महरा र रोशनी शाहीबीच रहेको लामो समयदेखिको अनैतिक सम्बन्धबाट मात्र होइन घटनाको प्रकृति, प्रवृत्ति र घटनाक्रमहरूले पनि यस्तै शंकाहरूलाई बल पुर्‍याउँछ । आफ्नो अनुकूलको निर्णय गराउन बाह्य शक्तिहरू यो हदसम्म खेलेको सत्य हो भने यो कुरा निकै गम्भीर र चिन्ताजनक छ । भावी दिनहरूमा महराजस्तै अन्य नेताहरूको पनि राजनीतिक जीवन यसरी नै धराशयी हुने त होइन भन्ने आशंका उत्पन्न भएको छ । महरा यौन काण्ड स्वाभाविक हो कि डिजाइनपूर्वक घटाइएको हो, त्यसको उत्तर खोज्न भने केही दिन धैर्यधारण गर्नुको विकल्प छैन । सत्य के हो त्यो धेरै दिन छोपिने छैन ।

रहस्यमय बन्दै महरा-रोशनी यौन काण्ड