खुलामञ्चको बार भत्काइयो, भर्खर गरेको ढलानमा गाडी गुडाइयो

काठमाडौं । खुलामञ्चस्थित बसपार्क बनाइएको क्षेत्रमा स्थानीयले अवरोध गरेका छन् । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका हुन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, सांसद भीमसेनदास प्रधान, वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् ।

बार भत्काउनुका साथै भर्खर गरिएको ढलानमा गाडी समेत कुदाएका छन् । भ्यू टावरका ठेकेदार मनोज भेटवालले बनाइरहेको संरचना भत्काइएको हो । यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।

ठेकेदार भेटुवालले बाहिरबाट नदेखिने गरी जस्ताले बारेर दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजेका थिए । पुरनो बसपार्ब क्षेत्रमा भ्यू टावर बनाउन लागिएको छ । त्यसको साटो अस्थायी रुपमा खुलामञ्चलाई बसपार्क बनाइएको थियो ।