‘डिसेम्बर फल्स पल शाहको कथावस्तुमा बनेको हो’ ? भन्ने प्रश्नमा आर्यनले यसो भने

‘डिसेम्बर फल्स पल शाहको कथावस्तुमा बनेको हो’ ? भन्ने प्रश्नमा आर्यनले यसो भने


चलचित्र डिसेम्बर फल्सको ट्रेलर सार्वजनिक भएको छ । 

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २३ सेकेण्डको ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका ट्रेलरमा महशुस गर्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह गरे । उनले दर्शकले आर्यन सिग्देललाई जस्तो फिल्ममा देख्न रुचाएका थिए सोही फिल्म बनेको दाबी गरे ।

सञ्चारकर्मीहरुले जेलमा रहेका अभिनेता पल शाहको बारेमा चलचित्र बनाइएको हो भन्ने प्रश्नमा उनले पल शाहको कथावस्तुलाई फिल्ममा नराखिएको दाबी गरे । फिल्ममा नर्सको लाइफमा भएका उत्तारचढाव समेटिएको उनको दाबी छ । उनले भने, ‘सिनेमा राम्रो बनेको छ, प्याकेजको सिनेमा छ, आर्यन सिग्देललाई जस्तो फिल्ममा दर्शकहरु हेर्न चाहनुहुन्थ्यो त्यस्तै बनेको छ । पल शाहको कथावस्तुलाई यो सिनेमामा राखिएको छैन, त्यस्तो नसोच्नुहोला । यो अनुमान गलत, हो कथामा यो छैन । एउटा नर्सको लाइफमा भएका उत्तारचढावको बारेमा कथामा छ ।’ 

कार्यक्रममा कलाकार शिवहरि पौड्यालले भारतीय निर्देशक भएकाले फिल्म राम्रो बनेको बताए । उनले मरमसला पूरा भएको चलचित्रका रुपमा आफूले डिसेम्बर फल्सलाई लिएको बताए । प्रविण झा निर्देशित सिनेमाको ट्रेलरमा कतैँ खुल्ला र कतै सस्पेन्स छोडिएको छ । पुस १५ गते रिलिज हुने सिनेमामा आर्यनसँगै उपासना सिंह ठकुरी, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । बीपीका खनालको कथा, केदार भुषाल-प्रतिक पौडेलको संवाद-पटकथा रहेको सिनेमामा श्री श्रेष्ठको एक्शन, महेश आर गुप्ताको छायांकन, दीपक शर्मा-कोसिस क्षेत्री-सुशान्त गौतम-प्रतिक पौडेलको संगीत र वनिष शाहको सम्पादन रहेको छ । रामप्रसाद रिजालको प्रश्तुति रहेको सिनेमामा राजकुमार भट्टको निर्माण र लक्ष्मण रिजाल-अशिम काफ्लेको कार्यकारी निर्माण छ ।

Logo