प्रधानमन्त्रीका बुवाछोराको त्यो रमाइलो सम्वाद (भिडियोसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टीका प्रसाद ग्रहण गर्दै । तस्वीरः चन्द्रकला क्षेत्री/रासस
  • कृष्णसिंह धामी ।

हरेक छोराछोरीका लागि आमाबुवा संसारकै सबैभन्दा ठूला हुन्छन् । उनीहरूप्रतिको मान, सम्मान, आदर, सत्कार निकै महत्वपूर्ण हुन्छ । र आमाबुवाको लागि पनि छोराछोरी सबैभन्दा प्यारो लाग्छ । जन्मदिने आमाबुवाप्रति जो कोही पनि कृतज्ञ हुनुपर्छ । आमाबुवा र छोराछोरीले गर्ने एकअर्काप्रतिको भावले नै संसार चलिरहेको छ ।

अहिले धेरै आमाबुवालाई छोराछोरीसँग खेल्ने, बस्ने, कुरा गर्ने, रमाउने फुर्सद छैन । छोराछोरी के भन्छन्, के चाहन्छन्, के सोच्छन्, के गर्छन् ? यस सम्बन्धमा आमाबुवा जानकार छैनन् । त्यस्तै बुढेशकालको साहरा मानिने छोराछोरी पनि त आमाबुवाबाट टाढिने गरेका छन् । आफ्नो भविश्य निर्माणको पछि दौडदैं गर्दा आमाबुवाप्रति गर्नुपर्ने माया, प्रेम तथा कर्तव्य पुरा गर्न सकिरहेका हुँदैनन् । बुढेशकाल लागिसकेपछि हरेक आमाबुवालाई छोराछोरीको निकै बढी माया चाहिन्छ । त्यसैले त विभिन्नखाले चाडपर्वले पनि परिवारलाई नजिक ल्याउने काम गरेको हुन्छ ।

हो, यतिबेला नेपालीहरूको महान पर्व दशैं चलिरहेको छ । जसले हरेक आमाबुवा, छोराछोरी तथा आफन्तलाई नजिक बनाइरहेको छ । वर्षौसम्म पनि भेट हुन नसकेका आफन्तहरू यतिबेला भेटघाट गर्दै रमाइलो गरिरहेका छन् । देशकैं अभिभावक प्रधमानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार आफ्नो बुवा मोहन प्रसाद ओलीको हातबाट टीका लगाएर आर्शिवाद लिएका छन् ।

बुवा झापाबाट काठमाडौं आउन ढिला भएपछि प्रधानमन्त्रीले साइतमा टीका लगाउन पाएका थिएनन् । टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे बुवाको हातबाट टीका ग्रहण गरेका थिए ।

टीका ग्रहणमा बुवा–छोराको रमाइलोः
टीका लगाइदिन बालुवाटार पुगेका बुवा मोहन प्रसाद र प्रधानमन्त्री ओलीबीच रमाइलो दृश्य देखियो । जुन दृश्य देशको कार्यकारी प्रमुख भन्दा पनि बुवा छोराबीच हुने घनिष्टता, माया, सद्भावको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली बुवा मोहनप्रसाद ओलीलाई मन्त्री निवासमा स्वागत गर्दै । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

बालुवाटार पुग्ने विक्तिकै बुवा मोहनप्रसादले दुवै हात जोडेर सबैलाई नमस्कार फर्काए । त्यसपछि प्रधानमन्त्री ओलीले उनलाई कुर्सीमा बस्न अनुरोध गरे । त्यहाँ टीका लगाउन टीका र जमरा राखिएको थियो । त्यक्तिकैमा अलि अघि बढेर प्रधानमन्त्री ओलीले भने, ‘बुवा…हात यसो चोपे पनि हुन्छ ।’ त्यसपछि उठेर टीका लगाउन थाल्छन् । पछाडि पण्डितले मन्त्र पढ्छन् । त्यक्तिकैमा टीका लगाउन थालेका बुवा मोहनप्रसाद आफै मन्त्र पढ्छन् । त्यसपछि पण्डितको स्वर सानो हुन्छ ।

त्यसपछि बुहारी राधिकाको पालो आउँछ । उनलाई पनि टीका लगाइदिन्छन् । बुहारीलाई टीका लगाइदिँदा उनले पुरुषलाई टीका लगाउँदा पढिने मन्त्र नै पढ्छन् । त्यहाँ उपस्थिति पण्डित लगायत अन्य भने एक अर्कालाई हेरेर कुनै फरक संकेत गर्छन् । ब्राहमणले महिलालाई टीका लगाउँदा उच्चारण गरिने मन्त्र ‘ॐ जयन्ती मंगला काली…’ पढ्दा मोहनप्रसादले भने पुरुष मान्छेलाई टीका लगाउन पढिने मन्त्र, ‘ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने…’ बाचन गर्दै टीका लगाइदिन्छन् ।

श्रीमतीसँग प्रधानमन्त्रीको मजाकः भाग्यमानि भइस्
बुवाको हातबाट टीका थापिसकेपछि प्रधानमन्त्री ओलीले श्रीमती राधिकालाई पनि दशैंको टीका लगाइदिन्छन् । टीका लगाउने क्रममा प्रधानमन्त्रीले सबैले देखिने गरि उभिन श्रीमतीलाई आग्रह गर्दा त्यहाँ उपस्थित सबैमा हाँसोको गुञ्जन फैलियो । प्रधानमन्त्री स्वयम मज्जाले हाँसे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मपत्नी राधिका शाक्यलाई दशैंको टीका लगाईदिंदै । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

टीका लगाउँदै गर्दा प्रधानमन्त्रीले मन्त्रको अन्तिम हरफ बाँचन गरे । जमरा लगाइदिएपछि राधिकाले प्रधानमन्त्रीलाई अंकमाल गर्न खोजिन । तर, प्रधानमन्त्री ओलीले भने हात उनको शिरमा राख्दै भाग्यमानि भइस् भन्दै आर्शिवाद दिए । त्यसपछि त्यहाँ उपस्थित सबै फेरि हाँसे । जहाँ प्रधानमन्त्री निवास बालुवाटरको वातावरण नै हाँसोमय बन्यो ।

बुवाको हातबाट टीका ग्रहण गर्दै श्रीमतीलाई पनि टीका र जमरा लगाइसकेपछि प्रधानमन्त्री ओलीले अन्यलाई पनि दशैंको टीका लगाइदिए । दशैंको टीका लगाउन क्रममा प्रधानमन्त्री एकदम प्रशन्न मुद्रामा देखिएका थिए ।