#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व102673954045754108218586
नेपाल7061

अफ्रिकामा नेपाली दसैं : नेपाली बोल्ने भेट्टाए पुग्छ !

  • हिक्मत थापा, नाइजेरिया, अफ्रिका

नेपालीहरूको बानी नै यस्तो भयो, यो जाति एक ठाउँमा चित्त बुझाउँदैन । उसलाई दूरदराज ठाउँमा पुग्नुपर्छ । सायद यही कारण हो, अफ्रिका महादेशमा रहेका ३२ वटै देशमा नेपाली भेटिन्छन् । यहाँ अमेरिका, बेलायत, अस्ट्रेलिया वा जापानजस्तो बाक्लै नेपाली भेटिदैनन् तैपनि यहाँ पाँच हजारभन्दा बढी नेपालीहरू यहाँ खुलेका नेपालसम्बद्ध संघसंस्थामा आबद्ध भएका छन् । कम्तीमा दसैं मनाउन पनि हामी विभिन्न संघसंस्थाले बोलाएका स्थानमा जम्मा हुन्छौँ । दसैंले यहाँ भएका सबै जाति र क्षेत्रका नेपालीहरूलाई जोडेको छ । कतिपय गैरहिन्दुहरू पनि दसैंका मनोरञ्जनात्मक कार्यक्रममा भाग लिन्छन् र रमाउँछन् । यस अर्थमा यहाँका लागि दसैं सम्पूर्ण नेपालीहरूको सामूहिक पर्व बन्न थालेको छ ।

अफ्रिकामा नेपालीको आगमन हुन थालेको सन् ८० को दशकदेखि हो । तर यो सङ्ख्या सानो थियो । यहाँ नेपाली आगमन सबैभन्दा पहिले भारतीय कम्पनीका कामदारका रूपमा भएको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको उच्च तहका जागीरेका रूपमा केही उच्च प्राविधिक नेपालीहरू यहाँ आए । यो सङ्ख्या सन् ९० को दशकमा आएर बढ्न थाल्यो । छोटो समयका लागि शान्ति सेनामा आउने नेपालीलाई बिर्सने हो भने एक दशकअघिसम्म पनि अफ्रिकामा कुन ठाउँमा को बस्छ भन्ने मोटामोटी तथ्याङ्क निकाल्न सकिन्थ्यो । अहिले अफ्रिकामा नेपालीहरूको सङ्ख्या लगातार बढ्दै गएको छ र नेपालीलाई नेपाली भेट्न निकै सजिलो हुँदै गएको छ ।

अफ्रिकामा सामूहिक रूपमा दसैं मनाउन थालेको एक दशक भएको छ । यहाँका नेपालीहरूका लागि सन् २००८ को दसैं ऐतिहासिक छ । यो यसकारण हो कि सन् २००८ मा गैरआवासीय नेपालीको अफ्रिका शाखाको सुरुवात भयो र यसले पहिलो पटक औपचारिक रूपमा सामूहिक दसैं मनायो । नाइजेरियामा भएको उक्त औपचारिक दसैं समारोहमा हामीले सबैभन्दा पाको नेपालीको हातबाट सामूहिक टीका ग्रहण गरेका थियौँ । त्यसपछि हरेकले आफूभन्दा उमेरले जेठो मानिसका अघि निधार थापेका थियौं । टीका लगाउँदै गर्दा कतिपय अवस्थामा एक घन्टा वा एक दिन जेठो उमेरका व्यक्तिसँग पनि टीका लगाउन पाएर हामी मख्ख परेका थियौं । त्यो बेला औपचारिक रूपमा जमरा रोपेको, चामल रङ्ग्याउने रङ्ग नपाएर बजार भौंतारिनुपरेको घटना मलाई अहिलेजस्तो लाग्छ । नाइजेरिया आएपछि नै लगातार मैंले अफ्रिकामा रहेका नेपालीहरूको खोजी गरेको थिएँ । त्यही बेला नेपाली चेलीहरूलाई मानव तस्करहरूले नृत्य वा अन्य गैरकानुनी कार्यका लागि यहाँसम्म ल्याइपुर्‍याउन थालेपछि थोरै सङ्ख्यामा रहेका नेपालीहरूलाई यससम्बन्धी चासो लाग्नु स्वाभाविक थियो । यस्ता चेलीहरूको उद्धार गर्दागर्दै हामी एकअर्कामा नजिकियौं र यही नै दसैं मनाउने मेलो बन्न पुगेको अनुभव अहिले हुन्छ ।

चेलीहरूको उद्धार र कतिपय अवस्थामा रोजगारी खोज्दै अफ्रिका आइपुगेका युवाहरूको सहयोग गर्न पनि नेपाली समुदायको संगठन आवश्यक पर्‍यो । यो संगठन अन्य अफ्रिकी देशहरूमा पुग्यो र सामूहिक रूपमा दसैं मनाउने संस्कार पनि बढ्यो । कतिपय अवस्थामा छिमेकी देशका नेपालीहरूको संस्थामा पुग्ने वातावरण पनि बन्नपुग्यो । यसरी हामीले नाइजेरियापछि केन्या, युगान्डा, घाना, दक्षिण अफ्रिका, जाम्बिया, तान्जेनियासम्म पुगेर सामूहिक दसैं मनायौँ । त्यताका नेपालीहरू पनि त्यसैगरी छिमेकी देशहरूसम्म पुगेर पनि दसैं मनाउन थाले ।

दसैंमा हामी टीका लगाउने काममा मात्र सीमित हुँदैनौँ । दर्जनौँ र कतिपय अवस्थामा सयौं नेपाली भेला हुने भएकाले सांस्कृतिक कार्यक्रम, भोज वा वनभोज गरेर सामूहिक रमाइलो पनि गर्छौं । हाम्रो यो सामूहिक दसैंमा भारतीयहरू पनि भेला हुने गरेका छन् । कतिपय अवस्थामा अफ्रिकी नागरिक पनि हामीसँग दसैं मनाउन पाउँदा खुसी हुन्छन् । अफ्रिकामा भारतीयहरू नेपालीभन्दा बढी छन् । उनीहरू पनि दीपावलि र अन्य पर्व मनाउने गर्छन् तर पर्व मनाउनैका लागि टाढाटाढासम्म पुग्दैनन् । चाडपर्व र आफन्त खोज्न हामीले गरेको दुःख देख्दा उनीहरू छक्क पर्छन् । यस्ता पर्वहरूमा नेपालीहरूको नजिक रहेका भारतीयहरू र कतिपय अफ्रिकीहरू हाम्रो सामूहिक खुसीमा सामेल हुन्छन् । हामीसँग काम गर्ने वा हामीसँग नजिक भएका कतिपय अफ्रिकीलाई हामी नै यस्ता पर्वहरूमा बोलाउँछौँ ।
यो बेला टाउकोमा जमरा, निधारमा टीका र नेपाली टोपी लगाउन पाउँदा उनीहरूको खुसीको सीमाना रहँदैन । हामीले खाने मासु र भातमा असाध्यै रमाउँछन् । भारतीयहरूलाई पनि हाम्रो पृथक् संस्कृति देख्दा अनौठो लाग्छ । उनीहरूले मनाउने दुर्गा पूजा र हामीले मनाउने दसैंमा ठूलो फरक छ । अझ अफ्रिकामै जन्मेहुर्केका भारतीय मूलका नागरिकका लागि त यो साँच्चै रमाइलो पर्व हो । हुन त दसैं मात्र हामीले यसरी मनाउने होइनौं । आजभोलि महिलाहरूले तीज, दाजुबैनीको सम्बन्ध बढाउन चाहनेहरूले तिहार र अन्य जाति जनजातिका पर्व पनि मनाउन थालेका छौँ । तैपनि दसैं सबैको प्रिय र सबैको चासोको पर्व भएकाले दसैंमा हामी बढी भेला हुन्छौं र उत्सव मनाउँछौँ ।
यति हुँदाहुँदै पनि दसैंमा हामी नेपाल नै सम्झिरहेका हुन्छौँ । कतिसम्म भने हामी टीका पनि नेपालतिर फर्किएर लगाउँछौँ ।

म पश्चिम नेपालको कैलालीमा जन्मिएँ । त्यहीँ हुर्किएका कारण मलाई अफ्रिकाको दसैं पुराना सम्झनाको निरन्तरता मात्र लाग्छ । धरानबाट फुड टेक्नोलोजीमा स्नातक गरेका कारण पूर्वी नेपालमा मनाइने दसैंका बारेमा पनि मलाई राम्रै जानकारी छ । काठमाडौं बस्दा सबै क्षेत्रका नेपालीहरूको सामूहिक दसैं देख्न पाइन्छ । हुन त अहिले पश्चिम नेपाल र पूर्वी नेपालको दसैंमा लगातार परिवर्तन भइरहेको छ । यसले सम्पूर्ण देशको दसैं एकै प्रकारको जस्तो महसुस हुन्छ । सञ्चारमाध्यम र एक क्षेत्रका मानिस अर्को क्षेत्रमा जाने भएकाले यसो भएको हो । अफ्रिकामा सम्पूर्ण नेपाल भेला भएका कारण हामी सबैले मनाउने दसैं एकै प्रकारको हुन्छ ।

केही वर्षअघि साहित्यकार बुद्धिसागरले ‘कर्नाली ब्लुज’ नामक उपन्यास लेखेका थिए । यो लोकप्रिय उपन्यासको मुख्य स्थल कटासे बजार हो । मेरो सम्पूर्ण बाल्यकाल यहीँ बितेकाले आज पनि त्यो उपन्यासले मेरो बाल्यकाल सम्झाउँछ । हामी बाल्यकालमा कालिका मन्दिर जान्थ्यौँ । हुन त सुदूर पश्चिमभरि नै कालिका मन्दिर हुन्छन् । यही कालिका मन्दिरमा राँगा, खसी र बोका काट्ने चलन छ । बलि दिने चलन नेपालभरि नै उही हो तर विधिविधान केही फरक हुन्छ ।

यस्तो मन्दिरमा भाकल गर्ने चलन हुन्छ । परिवारका सदस्यले गरेको भाकल पूरा भएपछि कालिकालाई धन्यवाद दिन उनलाई बलि दिने चलन पश्चिमतिर हुन्छ । यो बेला दश–बीस गाउँका मानिस मन्दिरमा भेला भएका हुन्छन् । मन्दिरभित्र बलि दिँइदै गर्दा बाहिर देउडा नाचिन्छ । भोज चल्दै जान्छ । यस्ता मेलालाई राम भनिन्छ । मेला जानुको अर्थ राम जाने हो ।

बलि दिने संस्कार पश्चिमतिर अलि हिंस्रक छ । राँगालाई खेदी खेदी मार्ने गरिन्छ । कसले मार हान्ने भन्ने प्रतिस्पर्धा हुन्छ । जसले राम्रोसँग मार हान्यो, त्यो वर्षको हिरो उही हुन्छ । उसको मानमनितो हुन्छ । यही कारण अर्को वर्ष आफू समाजका अघि विशेष देखिन पनि मार हान्न युवाहरू हतारिन्छन् ।

अफ्रिका महादेशको नाइजेरियास्थित डांगोटे औद्योगिक क्षेत्रमा बसेर यो लेखिरहँदा मैले मनाएको त्यो दसैं जतिसुकै हिंस्रक भए पनि त्यो मेरा लागि प्रिय छ । सायद यसलाई हामीले संस्कृति मान्यौं र त्यसलाई अपनायौं । मेरा सन्तानलाई भने दसैंका यी कुरा कथाजस्तै लाग्छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार