जीतको नजिक पुगेर पनि नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा लगातार जीत हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले स्तब्ध भएको हो ।

आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय नेपाल निकै सुदृढ अवस्थामा थियो । १० ओभरसम्म एक विकेट मात्र गुमाएर ७३ रन जोड्दा नेपालको जीत लगभग पक्का भइसकेको थियो । तर, लगातार ३ विकेट गुमाएपछि नेपालको ब्याटिङ धराशयी भयो ।

नेपालका लागि कप्तान पारस खड्काले आक्रमक सुरुवात गरेका थिए । उनले १४ बलमा २ छक्का र २ चौकाको मद्दतले २५ रन जोडे । उनले इशान पाण्डेसँग ४.१ ओभरमा ३५ रनको साझेदारी गरे । इशान पाण्डेले ३० बलमा २२ रन बनाए । उनले २ चौका प्रहार गरेका थिए । त्यसपछि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीबीच २७ रनको साझेदारी भयो । दुवैले सुझवुझपूर्ण ब्याटिङ गरिरहँदा १४ औं ओभरमा निर्णायक मोड आयो । सो ओभरको अन्तिम बल र १५ औं ओभरको पहिलो दुई बलमा नेपालले लगातार विकेट गुमायो । त्यसपछि धराशयी बनेको नेपाल फेरि बौरिन सकेन ।

आरिफले २६ बलमा २६ र दिपेन्द्रले २० बलमा १९ रन बनाए । त्यसपछि आएका ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपाललाई अन्तिम ओभरमा २५ रन चाहिएको थियो । अघिल्लो म्याचमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसी क्रिजमा थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का र दोस्रोमा चौका प्रहार गरेर करणले झिनो आशा जगाए । तेस्रो बलमा पनि छक्का हान्ने प्रयास गर्दा १६ रङ बनाएका उनी लङ अनमा क्याच हुन पुगे । उनको विकेटसँगै नेपालको आशा सकियो ।

 

जीतको नजिक पुगेर पनि नेपाल आयरल्याण्डसँग पराजित