सीको भ्रमण मिति तयसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा
"विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान"

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार चिनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । “चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उनको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ । भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्नेछ ।

यो तहको सुरक्षा व्यवस्था अन्तर्गत बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डो हुनेछ । यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन् । सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन् ।