पहिलो “संस्कृति स्पोर्टस सम्मान” सन्तोषी श्रेष्ठलाई

पहिलो “संस्कृति स्पोर्टस सम्मान” सन्तोषी श्रेष्ठलाई


संस्कृति इन्टरनेसनल स्कुलले “संस्कृति स्पोर्टस सम्मान” नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको छ ।

स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल राष्ट्रिय खेलकुद पत्रकार मञ्चका प्रेसिडेन्ट एवम सेलेब्रिटी स्पोर्टस स्टार पारस खड्काको उपस्थितिमा उक्त जानकारी गराएका हुन् । 

यस वर्षको “संस्कृति स्पोर्टस सम्मान” सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ जसले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन् । उनको छनौट सो अवार्डका प्राविधिक साझेदार संस्था नेपाल राष्ट्रिय खेलकुद पत्रकार मञ्चका जुरी सदस्यहरुले गरेका थिए । श्रेष्ठ जनस्वास्थ्यको विद्यार्थी हुन् र उनी जनस्वास्थ्य सम्बन्धी अनुसन्धानमा काम गर्दै आएकी छिन् । उनले सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् ।

संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका प्रेसिडेन्ट देवेन्द्र सुबेदीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व-कप्तान पारस खड्काले सन्तोषी श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । त्यसैगरी संस्कृति इन्टरनेसनल स्कुलका डिरेक्टर श्री पशुपती मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गरेका थिए । 

त्यसैगरी सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई ५० हजार रुपैयाँको ट्रेनिब स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ । स्कलरशिप विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ । यस वर्षको स्कलरशिप विजेता डडेलधुरा ४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्ट बनेका छन् । 

सो अवसरमा संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष आचार्यले स्कुलले विद्यार्थीहरुको पढाईमा मात्र नभएर उनीहरुको र समाजकै समग्र विकासमा जोड दिने र यस अवार्डको स्थापनाले राष्ट्रिय प्रतिभाहरुलाई हौसला प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई पनि एउटा समानुभुतीपूर्ण समाजको निर्माणमा योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको बताएका छन् । 

साथै राष्ट्रिय क्रिकेट टिमका पूर्व-कप्तान खड्काले भने- “संस्कृति इन्टरनेसनल स्कुलले जुन ट्रेनिब स्कलरशिपको शुरुवात गरेको छ त्यसले वास्तवमै नेपालका उदीयमान क्रिकेटरहरुलाई हौसला र प्रोत्साहन प्रदान गरेको छ । मलाई आशा छ यसले असल र वास्तविक प्रतिभाहरुलाई सहयोग प्रदान गर्नेछ ।”

Skip This
Logo