‘वार’ ले कमायो ७ दिनमै २ सय करोड भारु, बनायो नयाँ रेकर्ड

एजेन्सी । बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । गत २ अक्टोबरमा रिलिज भएको ‘वार’ ले ७ दिनमै २ सय करोड भारु कमाएर नयाँ रेकर्ड कायम गरेको छ ।

यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ करोड भारुको ब्यापार गरेको छ । सात दिनमा चलचित्रले कूल २१६.६५ करोड भारु आम्दानी गरेको छ । यसमा हिन्दी संस्करणबाट २०८.०५ र तमिल/तेलुगु भर्सनको ८.६ करोड भारु कमाइ गरेको छ ।

ऋतिक रोशन र टाइगर श्रौफ अभिनित चलचित्र ‘वार’ ले अक्षय कुमारको ‘मिसन मंगल’ र सलमान खानको ‘भारत’ लाई पछि छाडेको छ । यो चलचित्र यो वर्ष सात दिनभित्र सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी चलचित्र पनि बनेको छ ।

यस सूचीमा शाहिद कपुरको ‘कबीर सिंह’ र विक्की कौशलको ‘उरीः द सर्जिकल स्ट्राइक’ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । चलचित्रले १ दिनमा नै ५० करोडभन्दा बढी कमाइ गरेको थियो भने ३ दिनमा नै १ सय करोडको कमाइ गरेको थियो ।