युवतीको घरबाट भाग्न खोज्दा तरुण दलका अध्यक्ष कुटिए

कञ्चनपुर । युवतीसँग अवैध सम्बन्ध राखेको आरोपमा तरुण दलका नगर कमिटी अध्यक्षमाथि कुटपिट भएको छ । महाकाली नगरपालिकाका तरुण दलका नगर अध्यक्ष डम्बर रानामाथी स्थानीयले कुटपिट गरेका हुन् । युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ।

महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि बुधबार कुटपिट भईरहेको अवस्थामा उद्दार गरिएको ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिए ।

युवतीको घरबाट भाग्न खोज्दा स्थानीयले कुटपिट गरेको खबर पाएपछि घटना स्थल पुगेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पनेरुको भनाइ छ । कुटपिटबाट रानाको टाउको र नाकमा चोट लागेको छ । राना विरुद्ध उजुरी नपरेकाले छोड्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।

बुधबार राति स्थानीय देवी मगरको घरमा गएका बेला स्थानीयले रानामाथि अवैध सम्बन्ध राखेको आरोप लगाउँदै कुटपिट गरेका थिए । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले कुटपिट भएको जानकारी नआएको बताए ।

‘राति उनी देवी मगरको घरमा गएका रहेछन् । स्थानीयले विगतदेखि नै उनीहरूबीच सम्बन्ध रहेको आरोप लगाएका थिए । त्यक्तिकैमा प्रहरीले नियन्त्रणमा लिएको हो । आफन्तको घरमा गएको भनेकाले अब उनलाई छोड्ने तयारी भइरहेको छ ।’ डिएसपी चन्दले भने ।