महराको बयान लिइयो, स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगियो

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको हो ।

स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको हो । हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान समेत लिइएको छ । बयान लिएपछि उनलाई सरकारी वकिल कार्यालयबाट अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

संसद सचिवालयकी स्टाफ नर्स रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महरालाई असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ गरिएको थियो । उजुरीमा उनले आफूलाई महराले बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन्।

असोज १२ गते आइतबार राति महरा रक्सीसहित शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियामा महराले आफुमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् ।

भिडियोमा हेर्नुहोस्, यसरी पक्राउ परे निवर्तमान सभामुख महरा