सी को नेपाल भ्रमणमा सुपुर्दगी सन्धी नहुने
प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार बालुवाटरमा चिनियाँ राष्ट्रपति सि चिङपीङको आशन्न राजकीय भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्रीहरुसंग छलफल गर्दै । तस्वीरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको शनिबार र आईतबार नेपालमा हुने राजकीय भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् विज्ञहरुसँगको छलफलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले चीनसँग सुपुर्दगी सन्धि नहुने प्रष्टयाएका हुन् ।

अन्य राष्ट्रहरुसँग पनि छलफल गरेर सो प्रक्रियालाई अघि बढाउने तर चिनियाँ राष्ट्रपतिको भ्रमणमा सो सन्धिमा सम्झौंता नहुने कुरा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण आफैंमा ऐतिहासिक भएको उल्लेख गर्दै त्यसमा सबै दलको साथ हुने विश्वास व्यक्त गरेका थिए ।

भने पूर्व प्रधानमन्त्रीहरुले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । सबै नेताहरुले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जोड दिएको श्रेष्ठले बताए ।

बैठकमा विज्ञहरुले नेपालको व्यापार घाटालाई कम हुने गरी मुलुकको आर्थिक विकासमा साझेदारीको विकास गर्न चीनसँग राष्ट्रपति सीको भ्रमणमा सरकारले जोड दिनुपर्ने सुझाव पनि दिएका थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने पूर्व परराष्ट्रमन्त्रीद्धय डा. रामशरण महत र डा. प्रकाशशरण महतले चीनसँग ऋण नभई अनुदान सहायता लिएर रेल सेवा विस्तारको कामलाई अघि बढाउन पहल गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल, सडक, विद्युतीय ट्रान्समिसन लाईन विस्तारलगायतका कनेक्टिभीटीका विषयमा पनि छलफल हुने जानकारी गराएका थिए । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमणलाई सफल बनाउने विषयमा एजेन्डा तय गर्न प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीसहितको विज्ञहरुसँग सामूहिक छलफल गरेका थिए ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो । पूर्व परराष्ट्रमन्त्रीहरु, चीनका लागि नेपालका राजदुत लिलामणी पौडेलसहित पूर्व राजदुतहरुको पनि बैठकमा सहभागी थिए ।