प्रधानमन्त्रीले कपाल मिलाइदिन भनेपछि….
  • दिभिशा शर्मा ‘कैंचीवाली’ –

दसैँ हरेक वर्ष आउँछ । हामी दुःखी या सुखी हुनुसँग दसैँलाई कुनै सरोकार हुँदैन । तोकिएको तिथि र मितिमा जसरी पनि आउने नै भएपछि दसैँलाई रमाइलोसँग मनाउनु पर्छ भन्ने मान्यता हामीहरू सबैको मनमा उब्जिएको होला । त्यसैले ऋण धन जेसुकै गरेर भए पनि दसैँमा रमाइलो नै गर्नुपर्ने र मिठो मसिनो नै खानुपर्ने हाम्रो परम्परा बनिसकेको छ।

दसैँको रमाइलो बाल्यकालमा जति हुन्थ्यो उमेर बढेसँगै रमाइलोको ठाउँ ‘जिम्मेवारी’ भन्ने कुराले ओगट्ने रहेछ । त्यो समयमा जुन रमाइलो हुन्थ्यो त्यसरी नै अहिले छोराछोरी रमाएको देख्दा तिनै पुराना सम्झनाहरू ताजा भएर आउँछन् । अझ कामकाजी भएपछि कामको जिम्मेवारी, घर व्यवहार र अन्य कुराले दसैँको रोमान्चकतामा केही कमी त हुने नै भयो ।

जेसुकै भए पनि र उमेर र जिम्मेवारीको जुनसुकै स्थानमा पुगेको भए पनि त्यो एक दिन ‘विशेष’ बनेरै आउँछ र जान्छ । यस पटक पनि आयो दसैँ र यस पटक पनि कहिल्यै नबिर्सने छाप दिएर गयो ।

टिका अग्रजहरूको हातबाट लगाउने हाम्रो परम्परा हो । यस पटक हामीहरू प्रधानमन्त्रीको हातबाट टिका र आशीर्वाद ग्रहण गर्न जाने योजनामा थियौँ । लाइनमा बसेर टिका थाप्ने योजना थियो तर हाम्रो सौभाग्य नै मान्नुपर्ला लाइनमा छुटेका केही परिवारलाई प्रधानमन्त्रीले औपचारिक कार्यक्रम सकिएपछि समय दिनुभएको रहेछ हामी त्यही समूहमा थियौँ ।

म र छोरी थियौँ । प्रधानमन्त्रीको अगाडि नर्भस हुनु स्वाभाविक थियो ।  कता कता अप्ठ्यारो लागिरहेको थियो  तर आदरणीय प्रधानमन्त्री केपी ओलीको बोली व्यवहार यस्तो किसिमको रहेछ कि, एकै छिनमा मनमा भएका डर सबै हराएर गयो ।

म कपाल काट्ने ‘कैंचिवाली’ हुँ भन्नासाथ प्रधानमन्त्रीले भन्नु भयो, “हेर त नानी मेरो कपाल काट्ने मान्छेले मेरो कपाल भुसुक्कै बिगारेर काटिदियो, तिमीले यसलाई मिलाउन सक्छौ’ ? भनेर टोपी निकाले देखाउनुभयो । ठ्याक्कै मेरो बाबाले मैले कपाल काट्न सिक्दै गर्दा जे भन्नुभएको थियो त्यही कुरा । त्यसरी टिका थाप्न गएका सर्वसाधारण जनतासँग आत्मीय बनेर बोलेको देख्दा प्रधानमन्त्रीप्रति धेरै सम्मान भाव जागेर आयो ।

त्यति मात्र होइन त्यहाँ धेरै कुरा भए । त्यो पारिवारिक भेट जस्तै भएकोले खासै ड्रेस यस्तै लगाउनपर्ने भन्ने थिएन ।  मैले कुर्था सुरुवाल लगाएकी थिएँ ।  छोरीले ‘ग्रन्ज प्यान्ट’ लगाएकी थिई । प्रधानमन्त्रीले त्यो देख्ने बित्तिकै छोरीसँग “ममीले कपाल काट्दा यो प्यान्ट पनि काटिन् कि क्या हो” ? भनेर सोध्नुभयो त्यहाँ हाँसोको फोहोरा छुट्यो । “खुइलिएको कपाल जोडेर लामो बनाउन सक्ने फाटेको प्यान्ट सिलाउन नसक्ने” ? यसरी प्रधानमन्त्रीले हाँसो गर्दा बालुवाटारको माहोल एकदम रमाइलो भयो ।

अनि टीका लगाउने कार्यक्रम सुरु हुनु अगाडि दक्षिणा कसलाई कति दिने भन्ने छलफल चल्यो । त्यहाँ ‘बिलो टेन’  उमेर समूहलाई र ‘बिलो एट्टीन’ उमेर समूहलाई मात्र दक्षिणा छुट्ट्याइएको थियो । मैले ‘बिलो ट्वान्टीएट’ लाई पनि चाहिन्छ भनेँ ।

प्रधानमन्त्रीले मलाई टिकाको साथमा दुई सय रूपैयाँ दक्षिणा दिनुभयो । धेरै धेरै आशीर्वाद दिनुभयो । ब्यबसायिक सफलताको शुभकामना पनि दिनुभयो । एक किसिमको ढाडस जस्तो पनि महसुस भयो मलाई । हातमा सिप हुनु र मेहनत गरेर आफ्नो खुट्टामा उभिनु स्वाभिमानी हुनु हो भन्दै मलाइ ‘स्याबास नानी’ भन्नुभयो । यो ढाडसले मलाई धेरै जिम्मेवार बनाएको महसुस भइरहेको छ ।

प्रधानमन्त्रीले दिएको दक्षिणा फ्रेमिंग गरेर भित्तामा सजाउने योजनामा छु । अब एक पटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको कपाल काट्ने रहर छ ।