भजनीमा हतियारसहित आउँछन् डाँका तर प्रहरी बेखबर

भजनीमा हतियारसहित आउँछन् डाँका तर प्रहरी बेखबर


-भजनी नगरपालिका–७ चरर्राका सञ्जय सक्सेनाको घरमा ८ मंसिरमा चोरी भयो । पेस्तोल तथा धारिलाे हतियारसहित मध्यराति घरभित्र पसेका ५–७ जनाको समूहले सञ्जयको परिवारलाई कुटपिट गर्नुका साथै नगद, गरगहना र अन्य जिन्सी सामाग्री चाेरेर लगे ।

-९ मंसिरमा चोरी डकैतीमा संलग्न भएको आरोपमा सञ्चयले दुई जनाको नाममा किटानीसहित प्रहरीमा उजुरी दियो । किटानीका आधारमा प्रहरीले दुई जना भारतीय नागरिक (भारतको तिकुनियाका सलमान खान र विशाल अग्रवाल)लाई पक्रउ गरेपनि उनीहरूलाई २९ मंसिरमा प्रमाण नभेटिएको भन्दै छोडिएको छ ।

-सोही ठाउँका प्रेम चैधरीको दुई साताअघि तीन वटा खसी चोरी भए । प्रहरीमा उजुरी दिए पनि हालसम्म अपराधी समातिएका छैनन् । १२ वैशाखमा अमर कठरियाको घरमा पनि राति १२ बजेतिर ४–६ जनाको समूह आएर २२ लाखभन्दा बढीको नगद तथा जिन्सी सामाग्री लुटे । लुटेराले अमर कठरियालाई भाला तथा धारिलो हतियार प्रहार गरी घाइते बनाए । 

यी तीनवटा प्रतिनिधि घटना मात्रै हुन् । भजनी नगरपालिका–७ को चर्रामा वैशाखयता साना ठुला गरी एक दर्जनभन्दा बढी चोरीडकैती र लुटपाट भएका छन् । तर भने प्रहरी भने यस बिषयबारे बेखबर जस्तै छ । 

‘चोरी डकैती भएको घटना गाउँलेले ढिलो गरी मात्रै जानकारी दिने गर्छन्,’ इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र खड्काले भने, ‘जसका कारण अपराधी सहजै उम्कने गरेका छन् ।’ प्रहरीले स्थानीयकै कमजाेरीका कारण चोर समात्न समस्या भइरहेको जनाएकाे छ ।

स्थानीयहरूले भने प्रहरीले चाेर प्रक्रने सक्रियता नै नदेखाएकाे बताएका छन् । ‘हामीले किटानी जाहेरी दिन्छाैं’ पीडित अमरसिंह कठरियाले भने, ‘तर, प्रहरीले अनुसन्धान नै गर्दैन । बरु हाम्रै कमजाेरीदेखाएर निरास पार्छ ।’

चोरीका घटना बढ्दाे क्रममा र प्रहरीकाे बेवास्ताका कारण यहाँ बासिन्दामा त्रास बढेको उनले बताए । राति राति पेस्तोलसहित डाँकाहरू घरभित्र पस्न थालेपछि यहाँका नागरिकमा त्रास बढेको छ,’ स्थानीय प्रेम चौधरीले भने, ‘लुटेरा आउने डरका कारण सुत्न सहिरहेका छैनन्, प्रहरीप्रति पनि यहाँका नागरिकको विश्वास घटेको छ ।'

अमरसिंह कठरियाले वैशाखमा घरमा चोरी भएपछि स्थानीय फयात खान, उस्मान खान र तयब खानको नाममा किटानी जाहेरी दिएका थिए । तर, उनीहरूमाथि प्रहरीले कुनै प्रमाण नरहेको भन्दै अनुसन्धान नै गरेन् । 

प्रदेशसभा सदस्य तथा जसपा नेपालकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मालामति रानाले स्थानीयमा प्रशासन नै नभए जस्तो अनुभुति भइरहेको बताइन् । ‘हामी त्यहाँ जाँदा नागरिकले प्रहरी प्रशासननै नभएको भन्दै गुनोसो गरिरहेका हुन्छन्,’ रानाले भनिन्, ‘दैनिकजसो हुने लुटपाट प्रहरीकै संरक्षणमा भएको छ भन्ने गुनासो आइरहेको छ, यस विषयमा प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ ।’

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहे पनि भारतीय नागरिक राति नेपाल पसेर आतंक मच्चाउनुमा सुरक्षा व्यवस्था कम्जोर रहेको उनी बताउँछिन् ।

प्रहरीले भने स्थानीय नागरिकको कमजाेरी देखाएर पन्छिने प्रयास गरेको छ । ‘टोलमा चोरी भएको जानकारी तत्काल प्रहरीलाई गराउँदैनन्,’ इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र खड्काले भने, ‘एउटाले अर्कोलाई सहयोग पनि गर्दैनन्, जसका कारण अनुसन्धान गर्न समस्या भइरहेको छ । गाउँमा चोरी बढेको भने उनले स्वीकारे ।

‘केही समययता चाेरीका घटनाबारे उजुरी निरन्तर आइरहेका छन् ।’ उनले भने, ‘प्रहरी अन्य सुरक्षा व्यवस्थामा व्यस्त भएको बेला चोरी भएको छ, यसलाई रोक्न सशस्त्र प्रहरीसँग समन्वय गरेर अघि बढ्दैछौं ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने भजनीका एक दुई घटनाबाहेक अन्य घटनाका बारेमा जानकारी नभएको बताए । 'सञ्जय सक्सेनाको घरमा भएको चोरी प्रकरणमा किटानी परेकाहरूमाथि छानबिन गर्न दुई जनालाई पक्राउ गरिए पनि उनीहरूमाथि मुद्दा चलाउने कुनै प्रमाण नभेटिएका कारण छोड्नुपरेको हो,’ प्रवक्ता जोशीले भने, ‘अन्य घटनाका बारेमा मलाई जानकारी छैन ।’

पीडितद्वारा पुनः अनुसन्धानको माग
८ मंसिर राति घरमा चोरी भएपछि किटानीसहित उजुरी दिएका दुई जना भारतीय नागरिकलाई प्रहरीले छाडेपछि पीडित सञ्जयले पुनः अनुसन्धान गरिदिन आग्रह गरेका छन् । हिजाे आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रमाणसहित सलमान खान र विशाल अग्रवालले नै आफ्नो घरमा चोरी गरेको भन्दै पुनः अनुसन्धान हुनुपर्ने बताए । ‘मेरो घरको चक्कु उनीहरूबाट प्रहरीले बरामद गरेको छ,’ सक्सेनाले भने, ‘त्योभन्दा ठुलो प्रमाण अरु के चाहिन्छ ? त्यसैले उनीहरूमाथि पुनः अनुसन्धान गरियोस् भन्ने मेरो माग हो, यस विषयमा प्रहरी, सरकारी वकिल पनि गम्भीर बनुन् ।’

चोरी आरोपमा किटानी जाहेरीपछि पक्राउ परेका भारतीय नागरिलाई अनुसन्धाननै नगरी प्रहरीले छोडेको उनको आरोप छ । कैलालीको भजनी नगरपालिका–७ स्थित चर्रा पृथीपुरका सञ्जय सक्सेनाले आफ्नो घरमा पाँच लाख ८१ हजार चोरी गरेको आरोपमा भारतको  तिकुनियाका सलमान खान तथा विशाल अग्रवालका नाममा ९ मंसिरमा जाहेरी दिएका थिए । जाहेरी पछि दुवै जनालाई प्रहरीले पक्राउ गरे पनि छानबिन नै नगरी छोडेको सञ्जयको आरोप छ ।

किटानी जाहेरी दिएका ती भारतीय नागरिकले त्यस अघि पनि गाउँ पसेर ४–५ घरमा चोरी गरेको र अन्य आपराधिक क्रियाकलाप समेत गर्ने गरेको सञ्जयले बताए । ‘एक दुई पटक त गाउँमै मिलापत्र गरेर प्रहरीकै रोहबरमा छोडिएको थियो,’ उनले भने, ‘हामीले मिलापत्र गर्दा उनिहरूको मनोबल उच्च भएछ, त्यसपछि घरनै लुट्न थालेपछि किटानीसहित मुद्दा चलाउन उजुरी दिएका हौं, तर प्रहरीले कारवाही गरेन ।’

Logo