गण्डकीमा सांसदको सपथ कहिले ?

गण्डकीमा सांसदको सपथ कहिले ?


प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले मंसिर २८ गते अन्तिम नतिजा सार्वजनिक गरेको छ । पुस १८ भित्रै पहिलो संसद बैठक बस्नुपर्छ । त्यसअघि नै सपथ गराउनुपर्ने व्यवस्था छ । 

तर गण्डकीमा सांसदको सपथ ग्रहणबारे कुनै प्रक्रिया नै सुरु भएको छैन । संघीय संसदको सपथ पछि मात्रै प्रदेशमा तयारी हुने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयका कर्मचारीका अनुसार प्रदेश प्रमुख केन्द्रसँग निरन्तर छलफलमा छन् । ‘उहाँले छलफल गरिरहनु भएको छ । माथीको सपथ सकिएपछि प्रदेशमा गर्ने कुरा छ,’ एक कर्मचारीले भने, ‘माथीबाट सबै प्रदेशमा एकै पटक सपथ गराउने कुरा सुनिएको छ । सम्भवतः ११ गतेतिर हुन सक्छ ।’

प्रदेशको आफ्नै संरचना भए पनि सपथ समेत केन्द्रको आग्रह अनुसार गराउनुपर्ने अवस्था छ । त्यसपछि सरकार गठन पनि केन्द्रिय नेतृत्वको हातमा निहित छ । ६० सांसदमध्ये प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनले अरु सांसदलाई सपथ गराउने व्यवस्था छ । गण्डकीमा निर्वाचित ३६ र समानुपातिक २४ सांसद मध्ये पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सांसद हुन् । उनी ६५ वर्षका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा पहिले बस्याललाई सपथ गराउने छन् । त्यसपछि बस्यालले ५९ सांसदलाई सपथ खुवाउछन् । 

शनिबार गण्डकीमा निर्वाचित सबै सांसदको सूची सहित निर्वाचनको अन्तिम प्रतिवेदन निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको छ । आयुक्त इश्वरी प्रसाद पौडेलले प्रतिवेदन बुझाएका हुन् । पहिलो बैठक बसेपछि सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ भने सरकार गठनको बाटो पनि खुल्छ ।

Logo