पोखराको फोहोर व्यवस्थापनः ८ वर्षअघि नै भएको थियो विजुली निकाल्ने अध्ययन

पोखराको फोहोर व्यवस्थापनः ८ वर्षअघि नै भएको थियो विजुली निकाल्ने अध्ययन


पोखराको फोहोर व्यवस्थापन वडा तहमै सुरु गरिएको छ । निर्माण सकिएको अन्तराष्ट्रिय विमानस्थलमा जनवरी १ देखि अन्तराष्ट्रिय उडान गर्ने भएपछि उडान रुटमा पर्ने पोखरा १४ बाच्छेबुडुवाको ल्याण्डफिल साइट पुर्न थालिएको हो ।

चार वर्षअघि देखि ल्याण्डफिल हटाउन आयोजनाले गरेको पत्राचारलाई वेवास्ता गरेको महानगरले अन्तिमसम्म जग्गा खोजी गर्न नसक्दा वडामै फोहोर पुर्न थालिएको छ । अझै ४ महिनासम्म वडामै फोहोर थन्क्याउनुपर्ने अवस्था रहेको मेयर धनराज आचार्यले बताए । तत्कालका लागि यहाँका ६ वडामा फोहोर राखिने छ । 

महानगरले नयाँ ल्याण्डफिलको खोजी पनि गरिरहेको छ । ३ वटा ठाउँमा जग्गा पहिचान गरी वातावरणीय प्रभाव मुल्यांकनको अध्ययन भैरहेको आचार्यले सुनाए । २१, २२ र ३३ नम्बर वडामा ल्याण्डफिल उपयुक्त हुन सक्ने सिफारिस अध्ययन समितिले दिएको छ ।

यसअघि नै पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा जग्गा खोजी समिति गठन भएको थियो । जनवरी १ तारिखदेखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आउने भएकोले उडान रुटमा पर्ने ल्याण्डफिल स्थानान्तरण गर्न लागिएको हो । पोखरा १४ को ल्याण्डफिल भने माटोले पुर्न थालिएको छ । 

८ वर्षअघि नै बिजुली निकाल्ने अध्ययन
ल्याण्डफिलमा फोहोर लैजान नपाएपछि अहिले पोखरा महानगरलाई फोहोर व्यवस्थापन टाउको दुखाई बनेको छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको छ । पोखरामा पनि त्यस्तै कारखाना बनाउने योजना छ । तर टुंगोमा पुगेको छैन । तत्कालीन पोखरा उपमहानगरपालिकाले नै १८औं नगरपरिषद्बाट निर्णय गराएर विजुली उत्पादनको अध्ययन गरेको थियो ।

गोल्डरस कम्पनीले अध्ययन गरेर पोखराको फोहोरबाट ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने प्रतिवेदन दिएको थियो । उक्त कम्पनीले २ वर्ष लगाएर अध्ययन गरेको हो । अध्ययन अनुसार तत्कालीन समयमा पोखराबाट दैनिक १ सय टन फोहरमैला संकलन गर्ने योजना थियो । 

एक सय टन फोहोर संकलन भए ५ दशमलव २ देखि ८ दशमलव २ मेगावाटसम्म विद्युत उत्पादन हुने रिपोर्ट छ । उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २ अर्ब ४० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान थियो । आयोजनामा ३० प्रतिशत महानगरबासीको शेयर हुने र बाँकी कम्पनीले लगानी गर्ने बताइएको थियो । तर उक्त प्रश्ताव त्यसै थन्किएर बसेको छ । गोल्डरसले ३० बर्षसम्मको लागि सम्झौता गरेर १ बर्षभित्र काम सुरु गरी दोश्रो बर्षबाट उत्पादन सुरु गर्ने बताएको थियो । अहिले यहाँ अध्ययनभन्दा निकै बढी फोहोर उत्सर्जन हुन्छ । अझै बढी विजुली उत्पादन हुन सक्छ । 

मेयर आचार्यले अहिले पनि धेरै कम्पनीहरु उर्जा उत्पादनका लागि चासो दिएर आएका बताए । सकेसम्म विजुली र ग्याँस उत्पादनमा आफुहरुले चासो दिएको उनको भनाई छ । ‘विजुली उत्पादन गर्दा त्यसको खरानी पनि सिमेण्ट कारखानामा प्रयोग हुन्छ । पोखराका लागि विजुली नै राम्रो प्रोजेक्ट हो,’ उनले अघि थपे, ‘विजुली र ग्याँस सम्भव नभए मात्रै अरुतिर जान्छौं ।’ उनले पोखराको फोहोरबाट आम्दानी गर्नका लागि आफुहरु लागेको बताए । 

Logo