चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक, के भन्छन् कलाकार ?

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक, के भन्छन् कलाकार ?


चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । 

ट्रेलर चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको वरीपरी घुमेको छ । ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदलालाई दर्शाइएको छ । चलचित्रको ट्रेलरमा कलाकार सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेटिएको छ । पुष्पको एमिलीसँगको प्रेमकथालाई ट्रेलरमा देखाइएको छ । 

प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गरेका छन् । 

कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले फिल्ममा नयाँ किसिमको लभ स्टोरी रहेको बताए । उनले चलचित्रमा माया, साथ, सहयोग र विश्वासघातलाई देखाइएको बताए । 

अभिनेता खड्काले कुनैपनि निर्माताले पैसा टन्न भयो, व्यापार राम्रो चलिरहेको छ, अब अलिकति डुब्दिऔँ न त भनेर चलचित्र नबनाउने भन्दै सबैले राम्रोसँग साथ दिने बताए । फिल्ममा आफ्नो अभिनयलाई लिएर एक्साइटेड रहेको उनले बताए । 

त्यस्तै, अभिनेता सन्दीप क्षेत्रीले फिल्मले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए ।

पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सविर श्रेष्ठ रहेका छन् । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसी लगाायतका कलाकारहरुको अभिनय रहेको छ । एमिली लामाको भने यो डेब्यु चलचित्र हो । 

फिल्ममा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र पुस २९ देखि देशभर प्रदर्शन हुँदैछ । 

 

Logo